काठमाडौँ । गोरखाको छेकम्पारमा सुख्खा पहिरो खस्दा बुढीगण्डकी नदी आंशिक रूपमा थुनिएको छ। गोरखाको चुमनुब्री गाउँपालिका–७ सियारखोलामा सोमबार बिहान पहिरो खसेपछि नदीको बहाव प्रभावित भएको हो।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार पहिरोले नदीको सम्पूर्ण बहाव भने रोकिएको छैन। नदीमा पानीको निकास भइरहेकाले तत्काल पूर्ण रूपमा नदी थुनिएको अवस्था नरहेको उनले जानकारी दिए।
पहिरो खसेपछि नदीको बहावमा केही अवरोध सिर्जना भएको भए पनि पानी निरन्तर बगिरहेकाले जोखिमको अवस्था नरहेको प्रशासनले जनाएको छ। यद्यपि, पहिरोका कारण नदीको बहावमा थप परिवर्तन आउन सक्ने भएकाले आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरिएको छ।
स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे आवश्यक निगरानी गरिरहेको जनाएको छ।
