सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपालमा हालैको प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्। संकटको यस घडीमा नेपाललाई राहत सामग्री उपलब्ध गराएर सहयोग गरेकोमा उहाँले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरेका छन्।
नेपालमा गएको विपद्ले जलविद्युत आयोजना, विद्यालय, पुल र सडक जस्ता महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले राहत सामग्रीमा जस्तै यी संरचनाहरूको पुनर्निर्माणमा पनि भारतको सहयोग रहने अपेक्षा व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले भनेका छन्, ‘कठिन समयमा प्राप्त यस किसिमको सहयोगले नेपाल र भारतबीचको गहिरो मित्रतालाई पुनः उजागर गरेको छ । म यसका लागि भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
विपद्का बेला प्राप्त यस्तो साथ र सहयोगले दुई राष्ट्रबीचको सम्बन्धलाई आगामी दिनमा अझ मजबुत र प्रगाढ बनाउने विश्वास समेत उहाँले व्यक्त गरेका छन्।
