जनकपुरधाम । हरवा–चरवा अधिकारको माग गर्दै जनकपुरधामस्थित मधेस भवन अगाडि सुरु गरिएको धर्ना कार्यक्रम एक सातादेखि निरन्तर जारी रहेको छ।
हरवा–चरवा संघर्ष समिति मधेस प्रदेशको अगुवाइमा विभिन्न माग राख्दै सुरु गरिएको धर्नामा मधेस प्रदेशका आठै जिल्लाका प्रतिनिधिहरू सहभागी छन्।
संघर्ष समितिले हरवा–चरवा परिवारको लगत संकलन, प्रमाणीकरण तथा परिचयपत्र वितरणको प्रक्रिया तत्काल अघि बढाउन माग गरेको छ। लामो समयदेखि भूमिहीनता र श्रम शोषणको चपेटामा रहेका हरवा–चरवा समुदायको पहिचान गरी उनीहरूको दिगो पुनःस्थापनाका लागि स्पष्ट कार्ययोजना स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने समितिको मुख्य माग छ।
संघर्ष समितिका सदस्य लागेन्द्र सदाका अनुसार सरकारले हरवा–चरवा समुदायको अधिकार तथा पुनःस्थापनाका विषयमा विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन नगरेपछि आन्दोलनमा उत्रिनुपरेको हो।
एक सातादेखि आन्दोलन जारी रहे पनि सरकारी पक्षबाट हालसम्म माग सम्बोधनका लागि कुनै पहल नभएको समितिले जनाएको छ। मागप्रति बेवास्ता गरिए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनीसमेत समितिले दिएको छ।
समितिले सरकारलाई हरवा–चरवा समुदायका मागप्रति गम्भीर बन्न तथा विगतमा भएका सम्झौता र प्रतिबद्धता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ।
माग सम्बोधन नभएसम्म धर्ना तथा दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने समितिले जनाएको छ।
– न्युज एजेन्सी नेपाल
