काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी–पहिरोजस्तो राष्ट्रिय विपद्को समयमा राजनीतिक दल र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले विपद् व्यवस्थापन, उद्धार तथा राहतलाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गरेका हुन्।
शाहीले रसुवालगायत बाढी–पहिरो प्रभावित क्षेत्रमा फसेका नागरिकको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्। विशेषगरी त्रिशूलीस्थित हाकु–२१६ जलविद्युत् आयोजनाको सुरुङभित्र ३ सयभन्दा बढी व्यक्ति फसेको जानकारी आएको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
उनका अनुसार बिहीबार बिहानैदेखि सशस्त्र प्रहरीको हेलिकप्टरमार्फत उद्धार प्रयास सुरु भएको छ। सुरुङभित्र फसेका नागरिकलाई सकुशल उद्धार गर्न सबै सुरक्षा संयन्त्र परिचालन गर्नुपर्नेमा उनले जोड दिएका छन्।
शाहीले राहत वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन ‘वान डोर सिस्टम’ लागू गर्नुपर्ने बताएका छन्। साथै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई थप प्रभावकारी, व्यापक र पारदर्शी बनाउनुपर्ने उनको सुझाव छ।
बाढी प्रभावित क्षेत्रमा टेलिकम तथा सञ्चार नेटवर्क अवरुद्ध हुँदा धेरै व्यक्तिको अवस्था थाहा हुन नसकेको भन्दै उनले तत्काल सञ्चार सेवा सञ्चालन गर्नुपर्ने बताए। विपद्को समयमा मृतकका शवबाट गरगहना लुट्ने जस्ता अमानवीय गतिविधिमा संलग्नलाई भिडियो प्रमाणका आधारमा पहिचान गरी कडा कारबाही गर्न पनि उनले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।
नेपालका प्रमुख नदीहरूको स्रोत हिमतालहरू भएकाले हिमताल फुट्ने जोखिमलाई ध्यानमा राख्दै निरन्तर अनुगमन तथा वैज्ञानिक अध्ययनका लागि स्थायी सरकारी निकाय गठन गर्नुपर्ने शाहीको माग छ। त्यस्तै, विपद् व्यवस्थापनका लागि संसदीय समिति गठन गर्नुपर्ने उनले बताए।
प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा बाधा पुग्ने गरी राजनीतिक दलका नेता तथा कार्यकर्ताले अनावश्यक भीडभाड गर्न नहुने भन्दै शाहीले प्रचारभन्दा सहयोगमा केन्द्रित हुन सबैलाई आग्रह गरेका छन्।
उनले बाढीका कारण प्रभावित क्षेत्रमा खाद्यान्न तथा अत्यावश्यक सामग्री पुर्याउन समस्या भइरहेकाले काठेपुल, झोलुङ्गे पुल र ट्रस ब्रिजलगायत अस्थायी संरचना तत्काल निर्माण गर्नुपर्ने बताए।
शाहीले अहिलेको प्राथमिकता नागरिकको जीवन रक्षा, उद्धार र राहत भएको उल्लेख गर्दै विपद्को समयमा कुनै दल वा समूहको पक्षमा नभई सिंगो देश एकजुट हुनुपर्ने बताए। सरकारका सकारात्मक कदममा आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
