काठमाडौं । चितवनको नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन गरिएको छ। नदीमा बगेर आएका शवहरू सुरक्षाकर्मी तथा उद्धार टोलीले संकलन गरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।
संकलन गरिएका शवलाई तत्काल विभिन्न अस्पतालमा सुरक्षित रूपमा राखिने शर्माले बताए। शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम पनि अघि बढाइने जनाइएको छ।
बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो क्षति पुर्याएको थियो। बाढीमा परी बेपत्ता भएका तथा मृत्यु भएका व्यक्तिका शव नदीमा बगेर चितवनसम्म आइपुगेको हुन सक्ने आशंकामा नारायणी नदी तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी रहेको शर्माले जानकारी दिए।
नदीमा थप शव आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उद्धार तथा खोजी टोलीलाई सतर्क अवस्थामा राखिएको छ।
