नेपाली काँग्रेसका नेता तथा संसदीय दलका पदाधिकारी सम्मिलित टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी उद्धार, राहत तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।
नुवाकोटको विदुर, देवीघाटलगायत बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले त्यहाँको अवस्था कल्पनाभन्दा बाहिर र भयावह रहेको बताए।
नेपाली काँग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक, सांसदहरू टेकबहादुर गुरुङ, साजा खातुन र पूर्वमुख्यमन्त्री बहादुर लामासहितको टोलीले प्रभावित क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएको थियो।
निरीक्षणका क्रममा आङदेम्बेले विदुर र आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको बताए। उनका अनुसार बाढीका कारण बजार क्षेत्र बगरमा परिणत भएको छ भने कतिपय स्थानमा अझै पानीको बहाव बढ्ने जोखिम कायमै छ।
धादिङ र रसुवाका कतिपय क्षेत्रमा सडक सम्पर्क विच्छेद भएका कारण टोली पुग्न नसके पनि स्थानीय जनप्रतिनिधिसँग समन्वय भइरहेको काँग्रेसले जनाएको छ।
निरीक्षणका क्रममा प्रशासनिक निकाय र सरकारबीचको समन्वयमा कमजोरी देखिएको काँग्रेस नेताहरूको निष्कर्ष छ। गृहमन्त्रीको भ्रमणका क्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायत सुरक्षा निकायका प्रमुखहरू उद्धार कार्यमा खटिनुको साटो ‘प्रोटोकल’ र स्वागतमा अल्झिनुपरेको गुनासो स्थानीयस्तरबाट आएको आङदेम्बेले बताए।
उनले बाढीबाट भएको भौतिक क्षतिसँगै संकलन गरिएका शव व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको र यसले थप महामारीको जोखिम निम्त्याउन सक्ने बताए।
केन्द्रबाट मन्त्रीहरू प्रभावित क्षेत्रमा पुग्दा स्थानीय प्रशासनको नियमित काम प्रभावित हुने र नागरिकले आवश्यक प्रशासनिक सहयोग नपाउने अवस्था सिर्जना हुनु दुःखद् भएको आङदेम्बेको भनाइ छ। उनले यसबारे प्रधानमन्त्रीलाई समेत जानकारी गराउँदै उद्धारमा खटिनुपर्ने निकायको काममा अवरोध नहुने गरी व्यवस्थापन मिलाउन सुझाव दिएको बताए।
विपद् व्यवस्थापन तथा राहत वितरणलाई थप व्यवस्थित बनाउन नेपाली काँग्रेसले आन्तरिक छलफललाई तीव्र बनाएको छ। आङदेम्बेले प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय पार्टी कार्यकर्तालाई उच्च सतर्कता अपनाउँदै नागरिकको सेवामा समर्पित हुन आग्रह गरेका छन्।
