काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भुवनबहादुर सुनारले बाढी प्रभावित नागरिकलाई राहत वितरण गर्न सरकारले अपनाएको एकद्वार प्रणाली प्रभावकारी हुन नसकेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राहत वितरण प्रक्रियामा संघीय सरकार तथा प्रदेश र स्थानीय जनप्रतिनिधिबीच आवश्यक समन्वय हुन नसकेको बताए ।
स्थानीय तहसँग सहकार्य र समन्वय गरी तत्काल प्रभावित क्षेत्रका नागरिकसम्म राहत पुर्याउन उनले सरकारलाई आग्रह गरे । बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारलाई राहत वितरणमा प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।
बाढी प्रभावित क्षेत्रमा काकाकुल हुने अवस्था सिर्जना हुन नदिन पहुँच नपुगेका वर्ग तथा समुदायसम्म सरकार पुग्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘सरकारले स्थानीय जनप्रतिनिधिसँग कोअर्डिनेसन गर्ने कुरामा कमजोरी भयो कि भन्ने लागेको छ । प्रभावित क्षेत्रको पालिका, वडा, वडा अध्यक्ष तथा जनप्रतिनिधिसँग जोडिएर जानुपर्छ । त्यसो भयो भने छिटो पुगिन्छ । अलि ढिलासुस्ती भयो जस्तो लागेको छ । समस्या भएकोले सरकारले तीव्रताका साथ जानुपर्छ । अहिले पनि नागरिकले राहत नपाएको कुरा सुनिएको छ ।’
राहत वितरणमा स्थानीय तहलाई नै प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘यसमा सरकारले तदारुकताका साथ लाग्नुपर्छ । राहत वितरणमा स्थानीय तह नै परिचालन गर्नुपर्छ ।’
विपद्को यस अवस्थामा राजनीतिक दल, सरकार तथा नागरिक समाज एकजुट भएर प्रतिकार्यमा जुट्नुपर्ने उनले बताए ।
बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको खोज तथा उद्धार र जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ छ ।
– न्युज एजेन्सी नेपाल
