काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १३ करोड १ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले भदौ ११ गतेको आकस्मिक कार्यसमिति बैठकको निर्णयअनुसार सहयोग रकम संकलन भइरहेको र छिट्टै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिनुभयो ।
उहाँले बाढीबाट ८ वटा सञ्चालनमा रहेका र ५ वटा निर्माणाधीन गरी १३ जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको बताउँदै दक्ष इन्जिनियर, प्राविधिक तथा कामदार गुमाउनु ऊर्जा क्षेत्रका लागि सबैभन्दा ठूलो पीडा भएको उल्लेख गर्नुभयो ।
इप्पानले राहत रकम वास्तविक पीडितसम्म शीघ्र, पारदर्शी र प्रभावकारी रूपमा पुर्याउन आग्रह गर्दै सरकार, निजी क्षेत्र, विकास साझेदार तथा सामाजिक संघसंस्थालाई सामूहिक रूपमा राहत, उद्धार र पुनःस्थापनामा जुट्न आह्वान गरेको छ ।
त्यस्तै, रसुवा, नुवाकोट र धादिङका जलविद्युत् आयोजनाका सुरुङ तथा टनेलमा फसेका नागरिकको यथाशीघ्र उद्धार गर्न समेत इप्पानले सरकारसँग माग गरेको छ ।
