काठमाडौँ । रसुवाको नौकुण्ड र कालिका गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ। साथै, गोसाइँकुण्ड गाउँपालिकाका धुन्चे, भार्खु र गोसाइँकुण्ड क्षेत्रमा पनि विद्युत् सेवा पुनःसुचारु भएको छ।
नुवाकोट DCS को ११ केभी लाइन तथा सान्जेन खोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन र प्रसारण सञ्चालनमा आएपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः पुनःस्थापित हुँदै गएको हो।
सान्जेन खोला जलविद्युत् आयोजना पुनःसञ्चालनमा ल्याई आमाछोदिङ्मो गाउँपालिकामा समेत विद्युत् सेवा पुनःस्थापनाको काम अघि बढाइएको छ। बाँकी प्रभावित क्षेत्रमा पनि विद्युत् आपूर्ति पुनःस्थापना गर्न काम भइरहेको जनाइएको छ।
प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बाबजुद प्रभावित क्षेत्रमा विद्युत् सेवा पुर्याउन दिनरात खटिएका कर्मचारी तथा प्राविधिक टोलीलाई धन्यवाद दिइएको छ।
