सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्का समयमा नेतृत्वको भूमिका स्वयं काम गर्न दौडिने नभई राज्यका सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गर्ने भएको बताए।
प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संकटका बेला नेतृत्व स्वयं उद्धारमा खटिनुभन्दा तत्काल सही निर्णय गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने र अवरोध हटाउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
उनले प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वयंसेवकले राज्य र नेतृत्व आफ्नो साथमा दृढतापूर्वक उभिएको अनुभूति गर्न सक्नुपर्नेमा जोड दिए। उनले सरकारले उद्धारकर्मीलाई साहस, सम्बन्धित निकायलाई स्पष्ट निर्देशन र नागरिकलाई भरोसा दिन सक्नुपर्ने बताए।
उनले विपद्को समयमा सरकारले आफूसँग भएका सबै संयन्त्र परिचालन गरेर खोज, उद्धार र राहत वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने समेत बताए।
उनले भने, ‘संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौडिने मात्र होइन। सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने, आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गराउने हो। त्यसैले यस्तो विपत्तिमा नेतृत्वले आफ्नो स्थान नछाडी कमान्ड, कोअर्डिनेसन र कम्युनिकेसनको शृंखला बलियो बनाइराख्नुपर्छ। मैदानमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी र स्वयंसेवकले हाम्रो पछाडि निर्णय लिने राज्य र नेतृत्व दृढतापूर्वक उभिएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ। जिम्मेवार नेतृत्वको भूमिका उद्धारकर्मीका लागि साहस, सम्बन्धित निकायका लागि निर्देशन र नागरिकका लागि भरोसा हो। संकटको बेला पदमा रहनु मात्र नेतृत्व होइन, आफ्नो जिम्मेवारी पहिचान गरी त्यसमा अडिग रही प्रत्येक निकायलाई जिम्मेवार र परिणाममुखी ढंगले परिचालन गर्न सक्नु पनि वास्तविक नेतृत्वको परीक्षा हो।’
उनले खोज तथा उद्धारमा परिचालित सुरक्षाकर्मीप्रति आभार पनि व्यक्त गरे।
