नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै बस्नुपरेको बताएकी छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले बाढीमा सम्पर्कविहीन आफन्तको खोजीमा प्रभावित क्षेत्रमा पुगेका नागरिकले समेत उचित राहत पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । नागरिकभन्दा ठूलो कुनै सरकार र व्यक्ति हुन नसक्ने भन्दै उनले नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन आग्रह गरेकी छन् ।
सांसद बरालले प्रविधिको अभावको कारण देखाउँदै सरकारले जिम्मेवारीबाट पन्छिन नहुने बताएकी छन् । सुरुङभित्र रहेका नागरिक जीवितै रहेको आशा व्यक्त गर्दै उनले खोज तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरेकी छन् ।
उनले भनिन्, ‘सरकारले बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै छन् । यस विषयमा सरकारले ध्यान दिनुपर्छ । बाढीमा परी मृत्यु हुनुभएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्न चाहन्छु । सम्पर्कविहीन नागरिकको खोज र उद्धार कार्य जारी राखियोस् । नागरिकभन्दा ठूलो कुनै सरकार र व्यक्ति हुन सक्दैन । यस कुरामा ध्यान जाओस् । प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन । सुरुङभित्र रहेका नागरिक अहिले पनि जीवित हुनुहुन्छ भन्ने आशा छ । कर्णालीका केही नागरिकले भागेर ज्यान जोगाउनुभएको छ । उहाँहरूको मसँग समेत भेट भएको थियो । सम्पर्कविहीन आफन्तको खोजीमा प्रभावित क्षेत्रमा रहेका नागरिकले समेत खान पाएका छैनन् । यस विषयमा पनि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद बरालले बाढीमा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।
