काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको दाबी गर्नुभएको छ।
सोमबार प्राधिकरणमा आयोजित कार्यक्रममा उहाँले हेलिकप्टरबाट मात्र पुग्न सकिने केही दुर्गम स्थानबाहेक अन्य क्षेत्रमा राहत वितरण भइरहेको बताउनुभयो। अहिले हेलिकप्टरलाई खोज तथा उद्धार कार्यमा प्राथमिकता दिइएकाले त्यस्ता स्थानमा राहत पुर्याउन कठिनाइ भएको उहाँको भनाइ छ।
उहाँका अनुसार त्रिशूली, रसुवा लगायत हेलिकप्टर पुग्न सक्ने नजिकका स्थानबाट खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाउने प्रयास भइरहेको छ। स्थानीय सरकारसँग निरन्तर समन्वय गरेर राहत वितरणलाई अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो।
उप्रेतीले विपद्को पहिलो दिनदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोज, उद्धार तथा राहतमा निरन्तर खटिरहेको बताउनुभयो। बेपत्ता व्यक्तिबारे सूचना प्राप्त हुनेबित्तिकै तीनवटै सुरक्षा निकायमार्फत विवरण जाँच गरी आवश्यकताअनुसार फिल्ड टोली परिचालन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो।
सामाजिक सञ्जालमा फैलिरहेका फेक भिडियो तथा गलत सूचनाप्रति सचेत रहन आग्रह गर्दै उप्रेतीले यस्ता सामग्रीले जनमानसमा नकारात्मक प्रभाव पार्ने बताउनुभयो।
छिमेकी मुलुकसँग समेत समन्वय गरी उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिइरहेको उहाँले बताउनुभयो। खोज तथा उद्धार कार्य सम्पन्न नभएसम्म राज्यका तर्फबाट प्रयास निरन्तर जारी रहने उहाँको भनाइ छ।
