काठमाडौं उपत्यकामा खाना पकाउन प्रयोग हुने एलपी ग्यासको अभाव झन् बढ्दै गएको छ। भोटेकोशी बाढीपछि सडक अवरोध हुँदा आपूर्ति प्रणाली प्रभावित बनेपछि उपभोक्ताहरू ग्यासका लागि घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्।
भोटेकोशी बाढी आउनुअघि नै काठमाडौंमा ग्यासको अभाव देखिएको थियो। सरकारले बजारमा ग्यासको पर्याप्त मौज्दात रहेको र केही समयमै आपूर्ति सहज हुने दाबी गरे पनि उपभोक्ताहरू भने ग्यासका लागि लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थामा छन्।
ग्यास वितरणलाई व्यवस्थित बनाउन कतिपय खुद्रा विक्रेताले कुपन प्रणाली लागू गरेका छन्। कोटेश्वर क्षेत्रमा एलपी ग्यास बिक्री गर्दै आएका व्यवसायी शङ्करकुमार श्रेष्ठका अनुसार ग्यासको माग उच्च रहे पनि दैनिक करिब १५० वटा सिलिण्डर मात्र वितरण गर्न सकिएको छ।
उनका अनुसार अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको सिलिण्डरसहित दैनिक बढीमा १६० वटा सिलिण्डर वितरण भइरहेको छ। भीड व्यवस्थापनका लागि सिलिण्डरमा नम्बर राख्ने तथा उपभोक्ताको नामसहित कुपन वितरण गरेर अर्को दिन ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए।
ग्यास लिन पुगेका उपभोक्ताले भने वितरण प्रक्रियाका कारण थप सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। जडिबुटीका राकेश विष्टले दुई–तीन दिनअघि नै कुपन लिए पनि ग्यास पाउन नसकेको बताए। सोमबार बिहानैदेखि ग्यासको प्रतीक्षामा लाइनमा बस्नुपरेको उनले बताए।
उनका अनुसार ग्यास लिनकै लागि काम छाडेर बिहानदेखि लाइनमा बस्नुपर्ने अवस्था आएको छ। दैनिक खाना पकाउन ग्यास आवश्यक पर्ने भएकाले रोजगारी तथा अन्य काममा हुने क्षति बेहोरेर भए पनि ग्यासका लागि आउनुपर्ने बाध्यता रहेको उनले बताए।
उपभोक्ताहरूले बजारमा ग्यासको अभाव व्यापक रहेको र स्थानीय डिपोमा समेत पर्याप्त सिलिण्डर नपुगेको बताएका छन्। सम्बन्धित निकायले ग्यास पठाइरहेको दाबी गरे पनि डिपोमै ग्यास उपलब्ध नभएपछि उपभोक्ताले समस्या भोग्नुपरेको उनीहरूको गुनासो छ।
रसुवामा आएको बाढीभन्दा अगाडिदेखि नै देखिएको ग्यासको समस्या सडक अवरोध र यातायात सञ्चालनमा आएको कठिनाइपछि थप गम्भीर बनेको हो। आपूर्ति व्यवस्था सहज हुन नसक्दा र मागअनुसार सिलिण्डर उपलब्ध नहुँदा सर्वसाधारणले दैनिक कामकाज प्रभावित पार्दै ग्यासको खोजीमा भौँतारिनुपर्ने अवस्था सिर्जना भएको छ।
