नेपाली सेनाले रसुवामा आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङभित्र करिब १२१ जना व्यक्ति फसेको जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्र रहेका व्यक्तिको अनुमानित विवरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा ५ जना, लाङटाङमा ७ जना, चिलिमेमा ७ जना, माथिल्लो त्रिशूली–१ मा करिब ५० जना र त्रिशूली–३ ए मा करिब ४२ जना रहेको अनुमान छ। यी आयोजनासहित विभिन्न सुरुङमा गरी करिब १२१ जना व्यक्ति फसेको तथ्यांक रहेको उनले बताए।
त्रिशूली–३ बी आयोजनासँग सम्बन्धित हराइरहेका सबै व्यक्ति सुरुङभित्र प्रवेश गरेका व्यक्ति नभएको थापाले स्पष्ट पारे। जलविद्युत् आयोजनासँग आबद्ध करिब ९ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको भए पनि उनीहरू सबै सुरुङभित्र फसेका छन् भन्ने बुझाइ गलत हुने उनले बताए।
थापाका अनुसार सुरुङको पूर्ण रूपमा ब्रेकथ्रु नभएसम्म त्यहाँ फसेका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहनेछ। सरकारले वा सम्बन्धित निकायले खोजी कार्य रोक्ने निर्णय नगरेसम्म नेपाली सेनाले उद्धारलाई निरन्तरता दिने उनले बताए।
सेनाले अहिले सूचनामा आधारित खोज तथा उद्धारलाई प्राथमिकता दिएको पनि थापाले जानकारी दिए। कुनै स्थानमा व्यक्ति फसेको वा फसेको हुनसक्ने विश्वसनीय सूचना प्राप्त भएलगत्तै उद्धार टोली परिचालन गरी खोजी गर्ने रणनीति अपनाइएको उनले बताए।
खोज तथा उद्धारसँगै नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनःस्थापनाका काम पनि अघि बढाएको जनाएको छ। त्यसअन्तर्गत तुइन तथा झोलुङ्गे पुल निर्माण, हवाई तथा स्थल रेकी गर्ने र अवरुद्ध सडक खुलाउने काम सुरु गरिएको सेनाले जनाएको छ।
