काठमाडौं — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको वार्षिकोत्सवलाई विगतको घटना सम्झने अवसरसँगै भविष्यमा त्यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन्।
मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत एक वर्षअघि आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मरण गर्दै उनीहरूको बलिदानबाट पाठ सिक्नुपर्ने धारणा सार्वजनिक गरेकी हुन्।
गत वर्ष २३ भदौमा जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जना युवाले ज्यान गुमाएका थिए। उक्त घटनाले राज्य र नागरिकबीचको विश्वासमा गम्भीर असर परेको गौतमको भनाइ छ।
उनका अनुसार स्थिति नियन्त्रणका लागि अन्य कम घातक विकल्पहरू उपलब्ध हुँदाहुँदै सडकमा गोली चलाइएको घटनाले राज्यको भूमिकामाथि प्रश्न उठाएको थियो। आगामी दिनमा यस्ता परिस्थितिमा बल प्रयोगको विकल्प अपनाउँदा नागरिकको जीवन र अधिकारलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताएकी छन्।
गौतमले आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मान उनीहरूको स्मरणमा मात्र सीमित नराखी त्यस्तो घटना फेरि हुन नदिने संस्थागत प्रतिबद्धतामा परिणत गर्नुपर्नेमा जोड दिएकी छन्।
२३ भदौको घटनापछि भोलिपल्ट देशका विभिन्न स्थानमा प्रदर्शन थप चर्किएको थियो। आन्दोलनले तत्कालीन राजनीतिक तथा राज्य संरचनामाथि समेत ठूलो दबाब सिर्जना गरेको थियो।
