काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोडिएको घटना भएको निष्कर्ष प्रस्तुत गरेको छ। मन्त्रालयले जलवायु परिवर्तनका कारण भोटेकोशी बाढी आएको होइन भन्ने दाबी गर्ने हो भने त्यसको ठोस वैज्ञानिक प्रमाण प्रस्तुत गर्नुपर्ने बताएको छ।
मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालका अनुसार पछिल्ला अध्ययन–अनुसन्धान र तथ्यांकलाई समग्रमा विश्लेषण गर्दा तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा हिउँ तथा बरफ पग्लिने क्रम तीव्र बनेको देखिन्छ।
उनका अनुसार हिउँ पग्लिँदै जाँदा हिमाली क्षेत्रमा जमेर रहेका ठूला बरफका ढिक्का कमजोर हुँदै तलतर्फ बग्न थाल्छन्। त्यस क्रममा बरफसँगै जमिन, माटो, चट्टान, गेग्रानलगायतका पदार्थ पनि बगेर तल्लो तटीय क्षेत्रमा आइपुग्छन्। वैज्ञानिकहरूले यस्तो अवस्थालाई हिमनदीजन्य चट्टानी पहिरोका रूपमा व्याख्या गर्ने गरेको ढकालले बताए।
“हिउँ पग्लिँदा र त्यसको चाप बढ्दै जाँदा बरफका ढिक्का तल बग्ने क्रममा जमिनसमेत आफूसँगै बगाएर ल्याउँछन्,” रासससँगको अन्तर्वार्तामा ढकालले भने, “त्यसपछि भिरालो तल्लो तटीय क्षेत्रमा पानी, हिउँ, माटो, गेग्रान र अन्य पदार्थ अत्यन्त तीव्र गतिमा आइपुग्दा त्यसको प्रभाव अकल्पनीय हुन्छ।”
ढकालले यस्तो प्रकृतिको घटना हुनसक्ने पूर्वानुमान गर्न सकिए पनि कुन समयमा, कति ठूलो र कस्तो स्वरूपमा घटना हुन्छ भन्ने यकिन गर्न कठिन हुने बताए।
उनका अनुसार भोटेकोशी बाढीबाट भएको क्षतिको स्तर, बाढीको गति र त्यसले पारेको प्रभाव हेर्दा यो जलवायुजन्य घटना भएकोमा कुनै द्विविधा नरहेको दाबी गरे।
“भोटेकोशी बाढी उत्पत्ति भएको स्थानमा अहिलेसम्म पृथ्वीको कुनै मानिस पुगेको छैन। बाहिरबाट सबैले अनुमान गरिरहेका छन्,” ढकालले भने, “हामीले यसलाई जलवायुजन्य घटना भनेपछि होइन भन्ने कसैले दाबी गर्छ भने त्यसको वैज्ञानिक प्रमाण पनि उसैले प्रस्तुत गर्नुपर्छ।”
ढकालले भोटेकोशी बाढीलाई शतप्रतिशत जलवायुजन्य घटनाका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार बाढी उत्पत्ति भएको क्षेत्र न्यून कार्बन उत्सर्जन भएको, ठूला भौतिक पूर्वाधार तथा उद्योग नभएको र मानवीय बस्तीसमेत नरहेको क्षेत्र हो।
“तापक्रम वृद्धि हुँदै जाँदा पृथ्वीको सतह तात्यो, हिउँ पग्लियो र हिउँ पग्लिँदा त्यससँगै जमिनसमेत बगेर आयो,” ढकालले भने, “त्यसैले यसलाई हामीले हिमनदीजन्य चट्टानी पहिरो भनेका हौँ।”
उनले मानवीय गतिविधि र कार्बन उत्सर्जन न्यून रहेको हिमाली क्षेत्रमा समेत यस्ता घटना देखिनु जलवायु परिवर्तनको गम्भीर असरको संकेत भएको बताए।
