एजेन्सी । यमनको हुथी विद्रोही समूहले दक्षिणपूर्वी यमनमा सैन्य सामग्री बोकेका ट्रकमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । हुथी समूहकाअनुसार साउदी अरबबाट यमनको सरकारको नियन्त्रणमा रहेको दक्षिणपूर्वी हदरामौत प्रान्तस्थित अल–वादिया सैन्य शिविरतर्फ सैन्य सामग्री लैजाँदै गरेका ट्रकलाई लक्षित गरी आक्रमण गरिएको हो । समूहले आक्रमणमा स्थानीय रूपमा निर्मित ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरिएको जनाएको छ ।
हुथीहरूले आक्रमणको दृश्य भन्दै केही भिडियोसमेत सार्वजनिक गरेका छन्, जसमा ट्रकमाथि प्रहार भएपछि आगो लागेको देखिन्छ । आक्रमणमा मानवीय क्षति भए–नभएकोबारे तत्काल कुनै जानकारी सार्वजनिक भएको छैन । हुथी समूहको दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न भने सकिएको छैन । यो आक्रमण यमनमा पछिल्लो समय बढिरहेको सैन्य तनावकै बीच भएको हो । साउदी अरबको समर्थन प्राप्त यमनी सरकारी सेनाले विभिन्न मोर्चामा हुथी विद्रोहीविरुद्ध लडाइँ गरिरहेको छ ।
हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले सामाजिक सञ्जालमार्फत साउदी अरबले हवाई आक्रमण तथा निगरानी उडान तिब्र बनाएको र यमनी सरकारी सेनालाई हतियार उपलब्ध गराएको आरोप लगाए । यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ । त्यसबेला हुथी विद्रोहीले राजधानी सानासहित उत्तरी यमनका ठूलो भूभाग नियन्त्रणमा लिएपछि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारको समर्थनमा साउदी अरब नेतृत्वको गठबन्धनले सन् २०१५ मा सैन्य हस्तक्षेप गरेको थियो ।
संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सन् २०२२ अप्रिलमा लागू भएको युद्धविराम छ महिनापछि औपचारिक रूपमा नवीकरण हुन सकेन। यद्यपि, त्यसपछि पनि कमजोर किसिमको अनौपचारिक युद्धविराम धेरै हदसम्म कायम रहेको थियो । पछिल्लो समय भने यमनमा पुनः तनाव बढेको छ । हुथी समूहले गत जुलाईमा साउदी अरबका पानीजहाजमाथि समुद्री प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । त्यसयता समूहले साउदी अरबका तेल ट्याङ्कर तथा तेलसम्बन्धी संरचनामाथि समेत आक्रमण गरेको दाबी गर्दै आएको छ ।
