काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री पुरुषोत्तम यादवले जेन–जी शहीदका परिवार र घाइतेहरूसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले जेन–जी आन्दोलन सत्ता प्राप्तिका लागि नभई मुलुकमा सुशासन कायम गर्नका लागि भएको दाबी गरे। उनले जेन–जी आन्दोलनको माग र मर्म जनताले अनुमोदन गरिसकेको बताए।
यादवले जेलमा रहेका जेन–जीहरूलाई समेत तत्काल रिहा गर्न माग गरे। सुशासनको माग गर्दै सडकमा आएका जेन–जीमाथि लाठी र गोली प्रहार भएको उल्लेख गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाहरूको पीडा सम्बोधन गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए।
उनले भने, ‘खासमा हामी सडकमा के माग्न गएका थियौँ, जसको बदलामा हामीले लाठी र गोली खानुपर्यो ? हाम्रा साथीहरू सुशासनका लागि सडकमा आउँदा बन्दुकको नालको निशाना परेर ढले। हाम्रो माग सत्ता थिएन, कुर्सी थिएन, न त हामी कसैको भाग खोस्न गएका थियौँ।’
जेन–जी आन्दोलनको माग र मर्म सही थियो भन्ने कुरा जनताले अनुमोदन गरिसकेको भन्दै उनले अन्तरिम सरकारले जेन–जी पुस्तासँग गरेको सहमति कार्यान्वयन नभएको बताए।
उनले शहीद परिवार तथा घाइतेहरूसँग गरिएको सहमति कार्यान्वयन गर्न र जेलमा रहेका जेन–जीहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गरे।
विगतको सम्मान गर्दै नागरिकसमक्ष आफूहरूले गरेका प्रतिबद्धता पूरा गर्न पनि उनले सरकारसँग आग्रह गरे।
— न्युज एजेन्सी नेपाल
