काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपीडितको स्वाभाविक आक्रोशमाथि साइबर बुलिङ गर्ने तथा तुच्छ टिप्पणी गर्ने पार्टीका नेता–कार्यकर्तामाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले बाढीमा आफन्त गुमाएका तथा विपद्को पीडामा रहेका नागरिकको स्वाभाविक आक्रोशलाई लिएर टिकाटिप्पणी नगर्न चेतावनी दिनुभयो ।
विपद्मा परेका नागरिकमाथि प्रहार गर्ने र उनीहरूको पीडामाथि राजनीति गर्ने कार्य स्वीकार्य नहुने उहाँको भनाइ थियो ।
लामिछानेले रास्वपाका कुनै पनि नेता वा कार्यकर्ताले बाढीपीडितका विषयमा तुच्छ टिप्पणी गरेको वा साइबर बुलिङ गरेको पाइए पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘भोटेकोशी बाढीको विपद्मा शोकमा परेकाहरूमाथि साइबर बुलिङ गर्ने, शोकमा परेकाहरूमाथि प्रहार गर्ने अन्धसमर्थक हामीलाई चाहिँदैन । हामीलाई त उनीहरूको आँसु पुछ्ने मान्छे चाहिएको छ ।’
पीडामा परेका नागरिकको चीत्कारमा आँसुको व्यापार गर्ने मानिस रास्वपालाई आवश्यक नरहेको उहाँले बताउनुभयो ।
‘रास्वपाका नेता–कार्यकर्ताहरूले पीडितहरूबारे तुच्छ टिप्पणी र साइबर बुलिङ गरेको पाइएमा कारबाही हुन्छ । यसरी टिप्पणी गर्ने जोकोहीलाई हामी पार्टीको साधारण सदस्यबाट पनि निकाल्छौँ । त्यस्ता पीडकहरू हामीलाई चाहिँदैन,’ लामिछानेले भन्नुभयो ।
बाढीपीडित नागरिकले सरकारसँग आश गरेर आफ्ना गुनासा राख्ने भएकाले उनीहरूको गुनासोलाई लिएर सामाजिक सञ्जालमा साइबर बुलिङ गर्ने व्यक्ति रास्वपाको कार्यकर्ता हुन नसक्ने उहाँको भनाइ थियो ।
लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई विपद्को समयमा पीडितको पक्षमा उभिन र उनीहरूको पीडा कम गर्ने काममा केन्द्रित हुनसमेत आग्रह गर्नुभयो ।
‘पीडितको चीत्कारमा आँसुको व्यापार गर्ने अन्धसमर्थकहरू रास्वपालाई आवश्यक छैनन्,’ उहाँले भन्नुभयो ।
–न्युज एजेन्सी नेपाल
