‘नयाँ अनुहार आउँदैमा नयाँ राजनीति हुँदैन, परिणामबाट सरकारको मूल्यांकन हुन्छ’ः पदमबहादुर परियार
राष्ट्रिय सभामा नेपाली काँग्रेसका मुख्य सचेतक पदमबहादुर परियारले नयाँ अनुहार सरकारमा आउँदैमा मात्रै नयाँ राजनीति स्थापित नहुने बताएका छन् ।
बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै परियारले यस्तो बताएका हुन् । उहाँले सरकार परिवर्तनभन्दा शासनको चरित्र परिवर्तन महत्वपूर्ण रहेको बताएका छन् । गत वर्षको भदौ २३ गते भएको जेन–जी आन्दोलनलाई वर्षौंदेखि नेपाली समाजमा थुप्रिएको असन्तुष्टिको विस्फोटका रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जालमाथिको प्रतिवन्ध आन्दोलनको तत्कालीन कारण भएपनि भ्रष्टाचार, बेरोजगारी, राजनीतिक पहुँचवाद, नातावाद र परिवारवाद तथा युवाको विदेश पलायनजस्ता समस्या आन्दोलनका मुख्य पृष्ठभूमि रहेको उहाँको भनाइ छ । उहाँले जनताको आवाज नसुन्दा आन्दोलन र आक्रोश जन्मिने तथा आक्रोशलाई गलत ढंगले सम्बोधन गर्दा राज्य नै संकटमा पर्न सक्ने बताएका छन् ।
परियारले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासन सुधार, डिजिटल सेवा र युवालाई अवसर दिने विषयमा गरेका प्रतिबद्धता व्यवहारमा देखिनुपर्ने बताएका छन् ।
उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल प्रतिवन्ध आन्दोलनको कारण मात्र थिएन, त्यो त विस्फोट गराउने झिल्को मात्र थियो । बारुद त वर्षौंदेखि नेपाली समाजभित्र जम्मा भइरहेको थियो । नयाँ अनुहार आउँदैमा नयाँ राजनीति भइहाल्दैन । पुरानो कुर्सीमा नयाँ व्यक्ति बस्दैमा प्रणाली परिवर्तन भइहाल्दैन । सरकार परिवर्तन हुनु सजिलो छ, तर शासनको चरित्र परिवर्तन गर्नु कठिन छ । प्रधानमन्त्री बदलियो तर के नेपाली नागरिकको भविष्य बदलियो रु’
उहाँले बेरोजगारी, युवाको विदेश पलायन, बाँझो खेत, किसानको उत्पादनको उचित मूल्य र सरकारी सेवामा नागरिकले भोग्नुपरेको झन्झट अझै कायम रहेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । परियारले भ्रष्टाचारविरुद्धको कारबाही निष्पक्ष हुनुपर्नेमा जोड दिएका छन् । सत्तापक्ष वा प्रतिपक्ष, पुरानो वा नयाँ दलसँग सम्बन्धित भएपनि दोषी देखिए कानूनी कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भ्रष्टाचारविरुद्धको अभियान राजनीतिक प्रतिशोधका रूपमा देखिए जनताको विश्वास गुम्ने चेतावनीसमेत दिएका छन् ।
