काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने भक्तजनका लागि विशेष व्यवस्था गरिएको छ। तीजको दिन मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
यस वर्ष भदौ २९ गते परेको तीजमा ठूलो संख्यामा श्रद्धालु आउने अनुमान गर्दै कोषले दर्शन तथा पूजाका लागि व्यवस्थापनलाई व्यवस्थित बनाएको हो।
भक्तजनको आवागमन सहज बनाउन मन्दिरबाहिर पाँचवटा र मन्दिर परिसरभित्र प्रवेश गरेपछि आठवटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ।
तीजमा महिला दर्शनार्थीको संख्या उल्लेख्य हुने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महिला सुरक्षाकर्मीको संख्या बढाउन सरकारसँग कोषले अनुरोध गरेको छ।
यस्तै, तीजका दिन हुने भीडलाई ध्यानमा राख्दै सवारी व्यवस्थापनका लागि छुट्टाछुट्टै पार्किङ क्षेत्र तोकिएको छ। विशिष्ट व्यक्तिका सवारी साधन पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङ गरिनेछ।
अन्य दर्शनार्थी तथा सर्वसाधारणका सवारी साधनका लागि भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा र उमाकुण्ड क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको कोषले जनाएको छ।
कोषले भक्तजनलाई निर्धारित मार्ग तथा पार्किङस्थल प्रयोग गरी दर्शन व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ।
