सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सरकारका विभिन्न निकायबीच निरन्तर समन्वय भइरहेको बताएका छन्।
बुधवार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायत विभिन्न मन्त्रालय, विभाग र सरकारी संयन्त्र विपद् व्यवस्थापनमा सक्रिय रहेको बताए।
सरकारले विपद्पछि पहिलो प्राथमिकता खोजी तथा उद्धारलाई दिएको र अहिले राहत वितरणको काम भइरहेको उनले बताए। भौगोलिक जटिलताका कारण केही व्यावहारिक कठिनाइ र कमजोरी देखिन सक्ने भए पनि सम्बन्धित निकायहरूले निरन्तर काम गरिरहेको उनले बताए।
अब पुनर्स्थापना र पुनर्निर्माणको दीर्घकालीन चरणमा सरकार प्रवेश गरेको भन्दै लामिछानेले सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणहरूले योजना निर्माणदेखि कार्यान्वयनसम्मको काम अघि बढाइरहेको बताए। सरकारको कामकारबाही सार्वजनिक रहेको भन्दै नागरिकले सरकारको कार्यसम्पादन मूल्यांकन गर्न सक्ने उनको भनाइ थियो।
रास्वपाभित्रैबाट सरकारको कामप्रति हुने आलोचनालाई उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गरे। नेताहरू र सांसदहरूले आफ्ना धारणा स्वतन्त्र रूपमा राख्न पाउने भन्दै उनले सरकारको आलोचनालाई ठूलो असहमतिका रूपमा लिन नहुने बताए।
सर्वदलीय बैठकमा विपद् व्यवस्थापन, राहत तथा पुनर्स्थापना, जलवायु परिवर्तन र सरकारका कामको समन्वयबारे छलफल भएको थियो। बैठकले सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने तथा संसदमा विशेष समिति गठनका लागि पहल गर्ने विषयमा समेत छलफल गरेको लामिछानेले जानकारी दिए।
