राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भोटेकोशी बाढी तथा विपद् व्यवस्थापनबारे बुधवार बसेको सर्वदलीय बैठकले एक साताभित्र सर्वदलीय राजनीतिक संयन्त्र र विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको बताएका छन्।
बैठकपछि शाहीले बाढीबाट प्रभावित तथा बेपत्ता नागरिकका समस्या कानुनी रूपमा सम्बोधन गर्न ‘सनसेट ल’ ल्याउने विषयमा समेत छलफल भएको जानकारी दिए। बाढीका कारण बेपत्ता भएका व्यक्तिको अवस्था, उनीहरूसँग जोडिएको बीमा तथा डीएनए पहिचानलगायतका विषयलाई कानुनी रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
बैठकले भोटेकोशी बाढीपछि खोजी, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको थियो। संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दललाई संयन्त्रमा सहभागी गराउने तथा छुटेका दललाई समेत समेट्ने विषयमा छलफल भएको शाहीले बताए।
त्यस्तै, विपद् व्यवस्थापन, जलवायु परिवर्तन तथा राज्यका विभिन्न निकायबाट भइरहेका कामको अध्ययन, समन्वय र अनुगमन गर्न संसदमा विशेष समिति गठन गर्ने निर्णय भएको छ। समिति गठनका लागि सभामुखसमक्ष आग्रह गर्ने र एक साताभित्र समिति गठन गर्न पहल गर्ने निर्णय भएको शाहीले जानकारी दिए।
