राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको छ।
समितिको बिहीबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो।
विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमितिसमेत गठन गरेको थियो। उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको समिति सभापति हरि ढकालले जानकारी दिए।
समितिको प्रतिवेदन प्रतिनिधिसभाको बिहीबार नै बस्ने बैठकमा पेश गर्ने उनले बताए। प्रतिवेदनलाई अन्तिम रूप दिन उनले समिति सचिवलाई निर्देशन दिए।
समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ अध्ययन गर्न २०८३ भदौ ४ गते गठन गरेको उपसमितिमा सदस्यको जिम्मेवारी हेरफेरसमेत गरेको छ।
समितिले दीपकराज बोहराको स्थानमा गजला समिम मिकरानीलाई २०८३ भदौ २२ गतेदेखि लागू हुने गरी जिम्मेवारी तोकेको हो।
राज्य व्यवस्था तथा सुशासन समितिको कार्यविधि, २०८३ को दफा ५ को उपदफा ३ बमोजिम जिम्मेवारी हेरफेर गरिएको समितिले जनाएको छ।
