गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवितै भेटिने सम्भावना कम रहेको बताएका छन् ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले जीवित उद्धार गर्ने सम्भावना कम भए पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको बताए । विशेषगरी जलविद्युत् आयोजनाका सुरुङहरूमा खोज तथा उद्धारको काम जारी रहेको उनले जानकारी दिए ।
कतिपय सुरुङमा प्रवेश गर्न भौगोलिक अवस्था, प्रविधिको अभाव तथा कठिन परिस्थितिका कारण लामो समय लागेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भौगोलिक अवस्था कठिन रहेको बताएको उनले जानकारी दिए ।
सम्भावना रहेसम्म खोज तथा उद्धार जारी राख्ने विषयमा सुरक्षा निकायका प्रमुख तथा विपद् विज्ञहरूसँग छलफल भइरहेको उनले बताए । खोज तथा उद्धारपछि राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढाउने उनले जानकारी दिए ।
शर्माले भने, ‘अहिले हाम्रो ध्यान खोज र उद्धारमा नै छ । यसपछि विस्तारै राहतमा जान्छौँ । त्यसपछि पुनःस्थापना र पुनर्निर्माणको काम हुन्छ । खोज र उद्धारमा अब जीवितै पाइने सम्भावना अलि कम छ, यद्यपि विपद् विज्ञ म होइन । अन्तर्राष्ट्रिय अभ्यासमा २१ दिनपछि पनि जीवितै पाइन्छन् भन्ने कुरा छ । अहिले अन्यत्र त हाम्रो त्यस्तो भेटिएको छैन । विशेषगरी हाइड्रोपावरका सुरुङमा बसिरहेकाहरूको खोज तथा उद्धारको कार्य भइरहेको छ ।’
उनले सबै सुरक्षा निकायका प्रमुखहरू खोज तथा उद्धारमा खटिएको बताए । तत्काल उद्धार गर्न नसकिनुमा प्रविधिको अभाव, विषम परिस्थिति र कठिन भौगोलिक अवस्थालगायतका कारण रहेको उनको भनाइ छ ।
‘कतिपय प्रविधि हामीसँग भएन, विषम परिस्थिति थियो, भौगोलिक अवस्था गाह्रो थियो । विशेषगरी अन्य देशबाट आएका खोज तथा उद्धारका विज्ञहरूले पनि त्यहाँको भूगोल देखिसकेपछि साँच्चै गाह्रो रहेछ भन्ने कुरा बताएका छन् । त्यसकारण खोज र उद्धार कार्यमा अलि ढिलो भयो,’ उनले भने ।
शर्माले बाढी प्रभावित क्षेत्रका महिला तथा बालबालिकाको संरक्षण स्थानीय तहसँगको समन्वयमा भइरहेको पनि जानकारी दिए । बालबालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषद्का प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको उनले बताए ।
उद्धार गरिएका तथा अभिभावकबाट छुटेका बालबालिकाको व्यवस्थापन स्थानीय सरकारले गरिरहेको उनले जानकारी दिए । स्थानीय तहमा कार्यरत गैरसरकारी संस्थाहरूले समेत केही होल्डिङ सेन्टरमा रहेका बालबालिकाको व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।
हालसम्म बालबालिकाको अवस्थाबारे गम्भीर विचलन वा थप समस्या नदेखिएको पनि उनले बताए ।
