चीन सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई डीएनए परीक्षणका लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको छ ।
रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न चीनले नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो । बुधवार विज्ञान तथा प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत झाङ माओमिङले डीएनए प्रोफाइलिङका लागि आवश्यक सामग्री तथा प्रविधि नास्टलाई हस्तान्तरण गरे ।
बाढीपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा मात्रै डीएनए नमुना परीक्षण सम्भव नभएपछि नास्टको प्रयोगशालामा पनि परीक्षण गर्ने काम भइरहेको नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा. रामचन्द्र पौडेलले बताए ।
पौडेलका अनुसार हालसम्म नास्टको प्रयोगशालाले करिब ८०७ वटा नमुना प्राप्त गरेको छ । नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट मात्रै पछिल्लो पटक १२ वटा नमुना नास्टले प्राप्त गरेको उनले जानकारी दिए ।
बाढीपछि ठूलो संख्यामा मानिस बेपत्ता भएको प्रारम्भिक विवरण आएपछि नमुना परीक्षणलाई तीव्रता दिन विभिन्न प्रयोगशालाबीच काम बाँडफाँट गरिएको उनले बताए । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भारतबाट आएका विज्ञले समेत सहयोग गरिरहेका छन् भने नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पनि विदेशी विज्ञको सहयोग रहेको उनको भनाइ छ ।
नास्टले प्राप्त गर्ने नमुनाको प्रोफाइल तयार गरी सम्बन्धित फरेन्सिक प्रयोगशालालाई उपलब्ध गराउने पौडेलले बताए । अन्तिम विश्लेषण तथा पहिचानका लागि आवश्यक डेटासँग मिलान गर्ने काम सम्बन्धित वैधानिक फरेन्सिक निकायबाट हुने उनको भनाइ छ ।
पौडेलले भने, ‘अहिले आएको बाढीपछि बगेका शवहरूको डीएनए प्रोफाइलिङ गर्ने काम हामीले यहाँ गरेका छौँ । तर यसको वैधानिक रूपमा डीएनए प्रोफाइलिङ गर्ने जिम्मेवारी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक ल्याबसँग हुन्छ । तर यो काम दुईवटा ल्याबले मात्र गरेर सम्भव हुने अवस्था थिएन । हामी पनि विज्ञान मन्त्रालयअन्तर्गतको निकाय भएकाले नास्टले सहयोग गर्दा कामलाई अझ छिटो अघि बढाउन सकिन्छ भन्ने उद्देश्यले यो काम सुरु गरिएको हो ।’
उनका अनुसार मन्त्रीको विशेष पहलमा चीन सरकारको सहयोगबाट आएका उपकरण तथा अन्य सहयोगबाट प्राप्त उपकरणहरू राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, प्रहरी फरेन्सिक ल्याब र नास्टमा ल्याइएका छन् । ‘अहिले हामी यस प्रयोगशालाका वैज्ञानिकहरूले सम्बन्धित विज्ञहरूसँग सहकार्य गरेर काम गरिरहेका छौँ । यस क्रममा उहाँहरूले हामीलाई तालिम दिने, हाम्रो क्षमता विकास गर्ने र आवश्यक डेटा उत्पादन गर्ने काम गरिरहनुभएको छ,’ उनले भने ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आएका हड्डी, दाँतलगायतका नमुना तथा हराएका व्यक्तिहरूको पहिचानका लागि उत्खनन गरिएका नमूनामध्ये केही सम्बन्धित प्रयोगशालाले आफैँ परीक्षण गर्ने र केही नमुना नास्टलाई पठाउने गरिएको उनले बताए । नास्टले ती नमुना आधिकारिक रूपमा लिएर डेटा तयार गरी सम्बन्धित फरेन्सिक निकायलाई पठाउने गरेको उनको भनाइ छ ।
उनले भने, ‘यसको वैधानिक जिम्मेवारी हामीसँग होइन, सम्बन्धित फरेन्सिक संस्थाहरूसँग नै छ । हामीले तयार गरेको डेटा उहाँहरूलाई पठाउँछौँ । त्यसपछि डेटा विश्लेषण गर्ने काम फरेन्सिक ल्याब तथा प्रहरीको सम्बन्धित संयन्त्रले गर्छ । उहाँहरूसँग अन्तर्राष्ट्रियस्तरको डेटाबेसमा पहुँच पनि छ । हामीले पठाएको डेटा त्यहाँ समावेश हुन्छ ।’
उनका अनुसार नास्टमा भइरहेको कामले तत्कालीन डीएनए परीक्षणसँगै नेपाली वैज्ञानिकको क्षमता विकासमा समेत सहयोग पुगेको छ । चिनियाँ विज्ञहरूले आफ्ना उपकरणसहित नेपाली वैज्ञानिकलाई तालिम र प्राविधिक सहयोग गरिरहेको उनले बताए ।
पौडेलका अनुसार मानव अवशेषबाट डीएनए निकाल्ने प्रविधि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै सञ्चालन भइरहेको छ । चिनियाँ उपकरण र प्रविधि प्रयोग गर्दा प्रक्रिया थप अनुकूलित भएकाले परीक्षणलाई तीव्र बनाउन सहयोग पुगेको उनको भनाइ छ ।
उनले नमुनाको संख्या घटेपछि नियमित रूपमा हुने फरेन्सिक परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र प्रहरीको फरेन्सिक ल्याबबाटै सञ्चालन गर्न सकिने बताए ।
