नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाको नयाँ नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ ।
नगर सभापतिको पदका लागि ज्योति भण्डारी र जितबहादुर मल्लले आ–आफ्नो उम्मेदवारी प्रस्तुत गरेसँगै चुनावी प्रक्रिया अगाडि बढेको हो । बुटवलमा जारी नगर अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा प्रतिनिधिहरूले उत्साहजनक सहभागिता जनाइरहेका छन् ।
लामो समयदेखि चर्चामा रहेको नगर सभापतिको निर्वाचनमा भण्डारी र मल्लबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । निर्वाचन समितिले तोकेको समयसीमाभित्र मतदान प्रक्रिया सुचारु भएपछि बुटवलमा चुनावी माहोल तातेको छ ।
दुवै उम्मेदवारले आ–आफ्ना एजेन्डासहित प्रतिनिधिहरूको मत तान्न अन्तिम प्रयास गरिरहेका छन् । स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउने दाबीसहित उनीहरू मैदानमा उत्रिएका हुन् ।
मतदान सकिएलगत्तै गणना सुरु हुने र आजै साँझसम्ममा नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । यो अधिवेशनलाई आगामी स्थानीय र आम निर्वाचनका लागि समेत महत्वपूर्ण रूपमा हेरिएको छ ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन नगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्न लागेको हो । अहिले मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरूको उपस्थिति उल्लेख्य रहेको छ ।
