राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेञ्चुरीले जेन–जी आन्दोलनका क्रममा पक्राउ परी लामो समयदेखि थुनामा रहेका युवाहरूलाई दशैँअघि नै रिहा गर्न सरकारसँग माग बताएकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सेञ्चुरीले कानूनसम्मत प्रक्रिया अपनाएर बन्दी युवाहरूलाई दशैँमा घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । संसदको शून्य समयमा बोल्दै सांसद सेञ्चुरीले आन्दोलनमा सहभागी भएकै आधारमा र क्यामेरामा अनुहार देखिएकै भरमा युवाहरूलाई राज्यले लामो समयदेखि थुनामा राखेको भन्दै आपत्ति जनाएकी छन् । केही दिनअघि सदनमा सहिदकी आमाले न्यायका लागि बगाएको आँसु स्मरण गर्दै उनले सरकारको जवाफदेहितामाथि प्रश्न उठाएकी छन् ।
उहाँले भन्नुभयो, ‘कोही सडकबाट सदनसम्म आइपुगे, तर आन्दोलनमा सहभागी युवाहरू अझै आफ्नो घरको आँगनसम्म पुग्न पाएका छैनन् । हामीले पटक–पटक सम्बन्धित मन्त्रालयमा कुरा पुर्याएका छौँ र सरकारको ध्यानाकर्षण गराएका छौँ, तर यो विषय अझै किन टुङ्गेन ?’
सरकार कुन प्रक्रियामा अड्किएको हो र कसको निर्णयको पर्खाइमा छ भन्दै उहाँले तत्काल स्पष्ट पार्न आग्रह गरेकी छन् । दशैँको समयमा देशभर खुशीयाली छाउँदा केही परिवारमा भने अझै पनि आफ्ना सन्तान घर फर्किएलान् कि भन्ने आशा र पीडाको मिश्रित प्रतीक्षा रहेको भन्दै उहाँले मानवीय संवेदनाका आधारमा पनि रिहाइ आवश्यक रहेको बताएकी छन् । कानूनले अनुमति दिएको ठाउँमा सरकारले उदारता देखाउनुपर्नेमा उहाँको जोड रहेको बताएकी छन् ।
