बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महासचिव मनोज गोयलले बैंकिङ क्षेत्र अप्ठ्यारो अवस्थामा भए पनि ‘उठ्नै नसक्ने’ स्थितिमा नरहेको बताएका छन् ।
काठमाडौँमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गोयलले बैंकिङ क्षेत्र अहिले केही समस्यामा देखिए पनि त्यो ‘ज्वरो आएजस्तो’ मात्र भएको र समयमै उपचार गरेर समाधान गर्न सकिने स्पष्ट पारेका छन् । देशमा व्याप्त आर्थिक मन्दी, बजारमा मागको संकुचन र प्राकृतिक विपद्का कारण बैंकहरू संकटमा परेको भन्ने चर्चा भइरहेका बेला उहाँले यस्तो धारणा राखेका छन् ।
नेपाली अर्थतन्त्रमा कुनै ठूलो संरचनात्मक क्षति नभएको दाबी गर्दै उहाँले विगतमा उत्पादनशील क्षेत्रमा पर्याप्त लगानी हुन नसक्नु र युवा श्रम शक्ति पलायन हुनुका कारण बजार शिथिल बनेको बताएका छन् । बजारमा ‘बैंकहरू डुब्न लागे वा अब सुध्रिनै नसक्ने भए’ भनेर फैलाइएको भाष्य गलत भएको बताउँदै महासचिव गोयलले यस्ता नकारात्मक हल्लाले समग्र अर्थतन्त्रलाई नै कमजोर बनाउने चेतावनी दिएका छन् ।
कार्यक्रममा उहाँले वित्तीय क्षेत्रको सुधारका लागि नीतिगत र कानुनी स्पष्टता आवश्यक रहेको औँल्याएका छन् । नेपाल राष्ट्र बैंक ऐनमा सञ्चालकहरूको योग्यता, उमेर हद र कारबाहीसम्बन्धी व्यवस्था व्यावहारिक बनाउनुपर्ने उहाँको माग छ । सानोतिनो प्राविधिक त्रुटिमै सचेत गराउँदा पनि पद नै खारेज हुने त्रासको माहोलमा बैंक सञ्चालकहरूले काम गर्न नसक्ने भन्दै उहाँले त्यस्ता प्रावधान तत्काल सच्याउन आग्रह गरेका छन् ।
यसैगरी, बैंकहरूको खराब कर्जा बढ्नुमा बैंकहरूको कमजोरी नभई समग्र अर्थतन्त्रको मन्दी मुख्य कारण रहेको उहाँले दाबी गरेका छन् ।
५ प्रतिशतभन्दा माथिको कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजनिङ) मा लाग्ने करको व्यवस्था हटाउन माग गर्दै उहाँले भने, ‘त्यस्तो अतिरिक्त करको भार अन्ततः बैंकलाई मात्र नभएर घुमिफिरी जनताकै पैसामा पर्ने गर्छ ।’
बैंकहरूमा थुप्रिएको गैर–बैंकिङ तथा जोखिमयुक्त सम्पत्ति (डिस्ट्रेस्ड एसेट) व्यवस्थापन गर्न सरकारले घोषणा गरेको ‘एसेट म्यानेजमेन्ट कम्पनी’को स्थापना प्रक्रिया अझै सुरु नभएकोमा उहाँले असन्तुष्टि व्यक्त गरेका छन् । पुस मसान्तभित्र कम्पनी खोल्ने भनिए पनि ठोस प्रगति नभएको भन्दै उहाँले यो संयन्त्र बनेमा बैंकहरूको वित्तीय स्वास्थ्यमा छिट्टै सुधार आउने बताएका छन् ।
हालैको बाढीपहिरोका कारण बैंकका ऋणीहरूको व्यवसायमा गम्भीर असर पुगेको भन्दै उहाँले राष्ट्र बैंक र बैंकहरू मिलेर कर्जा पुनर्संरचनामार्फत पीडित व्यवसायीलाई तत्काल निकास दिनुपर्ने आवश्यकता औँल्याएका छन् । विपद्का कारण बैंकहरूलाई नोक्सानी भए पनि निक्षेपकर्ताको बचत भने पूर्ण सुरक्षित रहेको उहाँले आश्वस्त पारेका छन् ।
उहाँले भने, ‘बैंकिङ क्षेत्र अहिले केही अप्ठ्यारो अवस्थामा भए पनि यो निको नहुने समस्या होइन। नेपालको अर्थतन्त्रमा कुनै ठूलो संरचनात्मक क्षति भएको छैन । आवश्यक सुधार र उचित नीतिगत हस्तक्षेप गर्न सके बैंकिङ क्षेत्र पुनः सुदृढ हुन सक्छ । त्यसैले बैंकिङ क्षेत्रलाई अत्यन्त कमजोर अवस्थामा रहेको सन्देश दिनुभन्दा यसको वास्तविक अवस्था पहिचान गरी सुधारका उपायमा केन्द्रित हुन आवश्यक छ । नियामकीय व्यवस्था, कर्जा वर्गीकरण, प्रोभिजनिङ तथा समस्याग्रस्त सम्पत्तिको व्यवस्थापनमा स्पष्टता र सुधार आवश्यक देखिन्छ । एसेट म्यानेजमेन्ट कम्पनीको अवधारणा पनि सम्भावित विकल्प हुन सक्छ । समस्याग्रस्त सम्पत्तिलाई उचित व्यवस्थापन गरी पुनः उत्पादनशील क्षेत्रमा परिचालन गर्न नेपाल राष्ट्र बैंक, सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक छ । समग्रमा, बैंकिङ क्षेत्रका वर्तमान चुनौती समाधान गर्न सकिने अवस्थामा छन् भन्ने विश्वासका साथ सुधार र व्यवस्थापनमा केन्द्रित हुनुपर्छ ।’
महासचिव गोयलले बैंकिङ क्षेत्र पूर्णतया जनविश्वासमा आधारित हुने भएकाले सञ्चारमाध्यमहरूलाई पनि यथार्थपरक र जिम्मेवार सूचना प्रवाह गर्न आग्रह गरेका छन् । अर्थतन्त्रमा सुधारका थुप्रै सम्भावना बाँकी रहेको भन्दै सही नीतिगत साथ पाए बैंकिङ क्षेत्र छिट्टै पुरानै लयमा फर्किने विश्वास उहाँले व्यक्त गरेका छन् ।
