ब्युनस आयर्स । फकल्यान्ड टापु आसपास सञ्चालन भइरहेको तेल अन्वेषण परियोजनालाई लिएर अर्जेन्टिना र बेलायतबीचको विवाद फेरि चर्किएको छ। अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले परियोजना तत्काल नरोके बेलायतविरुद्ध अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्।
मिलेईले उत्तरी फकल्यान्ड बेसिनमा अर्जेन्टिनाको प्राकृतिक स्रोतको अनुमति बिना उपयोग भइरहेको दाबी गरेका छन्। उनले विदेश मन्त्रालय तथा सम्बन्धित कानुनी टोलीलाई बेलायतविरुद्ध मध्यस्थताको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताएका छन्।
अर्जेन्टिनाले परियोजना रोक्न दुई साताको समय दिएको छ। उक्त अवधिमा गतिविधि नरोके समुद्री कानुनसम्बन्धी अन्तर्राष्ट्रिय न्यायाधिकरणमा मुद्दा लैजाने चेतावनी राष्ट्रपति मिलेईले दिएका छन्।
फकल्यान्ड टापुबाट करिब २२० किलोमिटर दूरीमा रहेको तेल क्षेत्रमा इजरायली कम्पनी नाभिटास र बेलायती कम्पनी रकहपर संलग्न छन्। ती कम्पनीहरूले भने बेलायतबाट आवश्यक अन्वेषण अनुमति प्राप्त भएकाले आफ्नो गतिविधि कानुनी रहेको दाबी गर्दै अर्जेन्टिनाको आपत्तिलाई अस्वीकार गर्दै आएका छन्।
दशकौँ पुरानो विवाद फेरि सतहमा
फकल्यान्ड टापुको सार्वभौमिकतालाई लिएर अर्जेन्टिना र बेलायतबीच लामो समयदेखि विवाद रहँदै आएको छ। अर्जेन्टिनाले फकल्यान्डलाई ‘लास माल्भिनास’ नामले उल्लेख गर्दै आफ्नो भूभाग भएको दाबी गर्छ।
सन् १९८२ मा दुवै देशबीच फकल्यान्डलाई लिएर युद्ध भएको थियो। करिब १० हप्ता चलेको उक्त युद्धमा २५५ बेलायती र ६४९ अर्जेन्टिनी सैनिकको मृत्यु भएको थियो।
तेल परियोजनाको विषयमा पनि अर्जेन्टिनाले संयुक्त राष्ट्रसङ्घका प्रस्तावको उल्लङ्घन भएको दाबी गरेको छ। यसको विपरीत बेलायतले फकल्यान्ड आसपासका प्राकृतिक स्रोतको विकास गर्ने अधिकार आफूसँग रहेको बताउँदै आएको छ।
नयाँ समुद्री मार्गबारे पनि छलफल
यसैबीच फकल्यान्डका व्यापारिक प्रतिनिधिहरू दुई बन्दरगाहबीच समुद्री यातायात पुनः सञ्चालन गर्ने सम्भावनाबारे छलफल गर्न चिलीको पुन्टा एरेनास पुगेका छन्।
फकल्यान्डका आर्थिक विकास उपनिर्देशक लुइस एलिसले प्रस्तावित समुद्री मार्ग तेल परियोजनासँग सम्बन्धित नरहेको बताएका छन्। उक्त नयाँ समुद्री सेवा यसै वर्षको अन्त्यसम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
