बुटवल — पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले लुम्बिनी क्षेत्रमा उद्योग तथा व्यवसायको विस्तारका लागि विद्यमान समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नुपर्ने बताएकी छन्।
रूपन्देहीको बुटवलमा मंगलबार आयोजित स्वागत कार्यक्रममा बोल्दै भण्डारीले स्थानीय उद्योगी तथा व्यवसायीसँग प्रत्यक्ष छलफल र परामर्श गरेर औद्योगिक क्षेत्रका चुनौती समाधान गर्नुपर्ने धारणा राखिन्।
उनका अनुसार पछिल्लो समय लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा सडक पूर्वाधार निर्माण हुनु क्षेत्रको विकासका लागि महत्वपूर्ण उपलब्धि हो। अब तयार भएका पूर्वाधारलाई आर्थिक गतिविधि र औद्योगिक विकाससँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो।
भण्डारीले आफ्नो राजनीतिक यात्रासँग लुम्बिनी क्षेत्र जोडिएको स्मरणसमेत गरिन्। उनले पहिलोपटक पार्टी उपाध्यक्षको जिम्मेवारी यही क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट प्राप्त गरेको उल्लेख गर्दै अहिले वरिष्ठ नेताको भूमिकामा पनि यही क्षेत्रबाट सक्रिय हुन पाउँदा खुसी लागेको बताइन्।
उनले विगतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदानलगायतका पूर्वाधार निर्माणको आवश्यकता औंल्याइएको र अहिले ती संरचना निर्माण भइसकेको उल्लेख गरिन्।
एमालेले आफूलाई वरिष्ठ नेतामा मनोनयन गरेकोप्रति भण्डारीले सकारात्मक प्रतिक्रिया दिँदै औपचारिक रूपमा उक्त जिम्मेवारी कसरी सुरु गर्ने भन्ने प्रक्रिया भने अझै स्पष्ट हुन बाँकी रहेको बताइन्।
लुम्बिनी अन्तर्राष्ट्रियस्तरमै परिचित क्षेत्र भएकाले नयाँ पूर्वाधार निर्माणसँगै यसको पहिचान अझ विस्तार भएको उनको भनाइ थियो।
एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनयन गरेको हो।
