काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बागमती प्रदेश नेतृत्वका लागि तीन जना नेताले आकांक्षा देखाएका छन्। प्रदेश अध्यक्ष बन्न प्रकाश रिमाल, जनकराज पाठक र रविन्द्र प्रताप शाहको नाम चर्चामा आएको हो।
रिमाल काठमाडौंका हुन् भने शाह भक्तपुर र पाठक नुवाकोटका नेता हुन्। पार्टीभित्रको आन्तरिक समीकरणअनुसार रिमाल अध्यक्ष राजेन्द्र लिङ्देननिकट मानिन्छन्। पाठक र शाह भने लिङ्देनइतर समूहबाट आकांक्षी रहेको राप्रपाका एक नेताले बताएका छन्।
लिङ्देनइतर समूहले भने प्रदेश अध्यक्षका लागि एक जना उम्मेदवारलाई अघि सार्ने उद्देश्यले आपसी सहमतिको प्रयास गरिरहेको बताइएको छ। नेतृत्व चयनका लागि अन्तिम रूपमा कसको नाममा सहमति जुट्छ भन्ने विषय भने टुंगिन बाँकी छ।
राप्रपाले आगामी असोज २१ गते देशका सातै प्रदेशमा एकैदिन प्रदेश अधिवेशन गर्ने तयारी गरिरहेको छ। जिल्ला तहका अधिवेशनहरू सम्पन्न गर्दै प्रदेश अधिवेशनतर्फ अघि बढेको पार्टीले सबै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधिसमेत परिचालन गरिसकेको छ।
बागमती प्रदेश अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिका सदस्य प्रा.डा. जयन्तनाथ खनाललाई केन्द्रीय निर्वाचन प्रतिनिधिको जिम्मेवारी दिइएको छ।
यसैबीच राप्रपाले केन्द्रीय महाधिवेशन पनि काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ। पार्टीको निर्णयअनुसार मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना हुनेछ।
#RPP #RastriyaPrajatantraParty #BagmatiProvince #NepalPolitics #RPPConvention #PoliticalNews #NepalNews #BagmatiPolitics #RajendraLingden
