• About
  • Advertise
  • Careers
  • Contact
Thursday, October 22, 2026
  • Login
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट
No Result
View All Result
Dream News Network
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
Home राष्ट्रिय

सात प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : सुशासन, मितव्ययिता र संघीयता सुदृढीकरणमा जोड

रिजन खड्का by रिजन खड्का
२८ आश्विन २०८३, बुधबार
A A
सात प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : सुशासन, मितव्ययिता र संघीयता सुदृढीकरणमा जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२८ असोज, विराटनगर । सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले संघीय शासन प्रणालीलाई बलियो बनाउँदै सक्षम, चुस्त, मितव्ययी र उत्तरदायी प्रादेशिक सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

कोशी प्रदेशमा बुधबार सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ ले संविधानको प्रभावकारी कार्यान्वयन, प्रदेशको संवैधानिक अधिकारको प्रयोग, स्थानीय तहको स्वायत्तताको सम्मान र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नौबुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको हो।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशबाहेकका अन्य प्रदेशका मुख्यमन्त्री सहभागी थिए। उनीहरूले संघीयतासम्बन्धी भ्रम र गलत बुझाइलाई तथ्य, अनुभव तथा उपलब्धिका आधारमा स्पष्ट पार्दै नागरिकको विश्वास र अपनत्व बढाउने लक्ष्यसमेत अघि सारेका छन्।

मुख्यमन्त्रीहरूले समृद्ध नेपाल निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र साझेदारी सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।

मुख्यमन्त्रीहरूका नौबुँदे साझा प्रतिबद्धता

१. संविधानको पूर्ण कार्यान्वयन र संघीयता सुदृढीकरण

संविधानको मर्म र भावनाअनुसार संघ, प्रदेश तथा स्थानीय तहका अधिकार, जिम्मेवारी र कार्यक्षेत्रको सम्मान गर्दै प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता मुख्यमन्त्रीहरूले जनाएका छन्। संघीय शासन प्रणालीलाई व्यवस्थित र परिणाममुखी बनाउन आवश्यक कानुनी, नीतिगत, संस्थागत तथा प्रशासनिक सुधार गर्ने उनीहरूको साझा संकल्प छ। तीनै तहका सरकारबीच समन्वय, सहकार्य र साझेदारीलाई थप प्रभावकारी बनाउने पनि उनीहरूले जनाएका छन्।

२. प्रदेश र स्थानीय तहको अधिकार तथा स्वायत्तताको सम्मान

प्रदेश र स्थानीय तहबीच अधिकारको दोहोरोपन, अनावश्यक हस्तक्षेप तथा कार्यक्षेत्रको अतिक्रमण हुन नदिने प्रतिबद्धता व्यक्त गरिएको छ। स्थानीय तहको एकल अधिकार क्षेत्रमा पर्ने विषयमा हस्तक्षेप नगर्ने र स्थानीय सरकारलाई प्रतिस्पर्धी नभई विकासको साझेदारका रूपमा अघि बढाउने नीति लिइनेछ।

स्थानीय तहको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि, स्रोत परिचालन र सेवा प्रवाहमा सहजीकरण गर्ने योजना पनि प्रतिबद्धतामा समेटिएको छ। आयोजना छनोट तथा कार्यान्वयनमा प्रदेश र स्थानीय तहबीच समन्वय बढाउँदै साना, टुक्रे र खुद्रे आयोजनामा सार्वजनिक स्रोतको अनावश्यक विनियोजन निरुत्साहित गरिनेछ।

३. सक्षम, चुस्त, मितव्ययी र उत्तरदायी प्रादेशिक शासन

प्रदेश सरकारअन्तर्गतका संरचना, निकाय, समिति, बोर्ड तथा कार्यालयहरूको आवश्यकता, औचित्य, कार्यसम्पादन र उपलब्धिका आधारमा नियमित समीक्षा गरिनेछ। आवश्यकताअनुसार त्यस्ता संरचनालाई एकीकरण, पुनर्संरचना वा खारेज गर्ने नीति अवलम्बन गरिने प्रतिबद्धता छ।

प्रशासनिक संरचनालाई सक्षम, कार्यमूलक र मितव्ययी बनाउँदै अनावश्यक खर्च घटाउने तथा बचत भएको सार्वजनिक स्रोत नागरिक सेवा, उत्पादन, रोजगारी, पूर्वाधार र सामाजिक क्षेत्रमा परिचालन गर्ने लक्ष्य राखिएको छ। सार्वजनिक प्रशासनलाई व्यावसायिक, निष्पक्ष, जवाफदेही र नागरिकमैत्री बनाउने पनि प्रतिबद्धतामा उल्लेख छ।

त्यसैगरी, सबै प्रदेशमा समान प्रकृतिका काम गर्ने कार्यालय, निकाय र आयोगहरूको नामकरणमा एकरूपता कायम गर्ने व्यवस्था मिलाइनेछ।

४. सुशासन, पारदर्शिता र नतिजामुखी सार्वजनिक वित्त व्यवस्थापन

आयोजना बैंक, मध्यमकालीन खर्च संरचना, स्रोत सुनिश्चितता तथा वार्षिक नीति र कार्यक्रमबीच तालमेल कायम गरिनेछ। प्रदेश सरकारका योजना, बजेट, सार्वजनिक खरिद र खर्च प्रणालीलाई पारदर्शी, जवाफदेही, मितव्ययी तथा नतिजामुखी बनाउने प्रतिबद्धता मुख्यमन्त्रीहरूले व्यक्त गरेका छन्।

सार्वजनिक स्रोतको उपयोग राजनीतिक पहुँच वा व्यक्तिगत स्वार्थबाट प्रभावित हुन नदिई उत्पादन, उत्पादकत्व, रोजगारी, गुणस्तरीय सेवा र आर्थिक तथा सामाजिक प्रतिफल दिने प्राथमिकताप्राप्त आयोजना तथा कार्यक्रममा केन्द्रित गरिनेछ।

वित्तीय अनुशासन, आन्तरिक नियन्त्रण, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, लेखापरीक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउँदै भ्रष्टाचार, अनियमितता र सार्वजनिक स्रोतको दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाइनेछ।

५. नागरिककेन्द्रित सेवा र समावेशी विकास

विकास प्रशासन, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सीप विकास र सामाजिक सुरक्षालगायत सार्वजनिक सेवाको पहुँच तथा गुणस्तर बढाउने प्रतिबद्धता जनाइएको छ। नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहलाई सरल, सहज, प्रविधिमैत्री र नागरिककेन्द्रित बनाइनेछ।

भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विविधतालाई ध्यान दिँदै सबै क्षेत्र, वर्ग, समुदाय, लिङ्ग, उमेर समूह, अपाङ्गता भएका व्यक्ति र पछाडि परेका समुदायको समानुपातिक सहभागिता तथा अवसर सुनिश्चित गरिनेछ। विकासको लाभ न्यायोचित रूपमा वितरण गर्दै क्षेत्रीय असन्तुलन, गरिबी, बेरोजगारी र सामाजिक विभेद न्यूनीकरणमा जोड दिइनेछ।

६. असल अभ्यास, ज्ञान र प्रविधिको आदानप्रदान

सातै प्रदेशले नीति निर्माण, योजना तथा बजेट व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, संस्थागत सुधार, प्रविधिको प्रयोग र नवप्रवर्तनका क्षेत्रमा हासिल गरेका अनुभव तथा सफल अभ्यास नियमित रूपमा आदानप्रदान गर्नेछन्।

साझा चुनौती समाधान र संस्थागत क्षमता अभिवृद्धिका लागि संयुक्त अध्ययन, अनुसन्धान, आपसी सिकाइ तथा ज्ञान व्यवस्थापनको प्रणाली विकास गरिनेछ। आवश्यकताअनुसार विषयगत छलफल, संवाद र क्षमता विकासका कार्यक्रम सञ्चालन गरी अन्तरप्रदेशीय सहकार्यलाई परिणाममुखी बनाइनेछ।

७. साझा प्रादेशिक आवाज र संघीयताको सबलीकरण

संघीयताको लाभ नागरिकले दैनिक जीवनमा अनुभूति गर्ने गरी शासन प्रणाली कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। संघीयतासम्बन्धी भ्रम र गलत बुझाइलाई तथ्य तथा उपलब्धिका आधारमा स्पष्ट पार्दै नागरिकको विश्वास र अपनत्व बढाइनेछ।

प्रदेशका संवैधानिक अधिकार, जिम्मेवारी र साझा सरोकारका विषयमा दलीय, व्यक्तिगत तथा प्रदेशगत स्वार्थभन्दा माथि उठेर साझा धारणा बनाउने र एकताबद्ध रूपमा प्रस्तुत हुने प्रतिबद्धता पनि जनाइएको छ।

संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई संविधानको मर्मअनुसार विश्वासिलो, सहयोगी र परिणाममुखी बनाउँदै साझा समस्याको समाधान संवाद, समन्वय र सहकार्यमार्फत खोजिनेछ। अन्तरप्रदेशीय सहकार्यलाई नियमित र संस्थागत गर्ने योजना पनि अघि सारिएको छ।

८. नागरिक सहभागिता, प्रमाणमा आधारित निर्णय र डिजिटल शासन

एकीकृत तथ्याङ्क तथा सूचना प्रणाली विकास र व्यवस्थापन गरी प्रदेश सरकारका नीति, योजना, बजेट तथा विकासका प्राथमिकता निर्धारणमा नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनेछ।

स्थानीय समुदाय, निजी तथा सहकारी क्षेत्र, शैक्षिक र अनुसन्धान संस्थालगायत सरोकारवालालाई सार्वजनिक निर्णय प्रक्रियामा सहभागी गराउने प्रतिबद्धता छ। नीति निर्माण तथा सार्वजनिक स्रोतको विनियोजनलाई आवश्यकता, तथ्य, प्रमाण र परिणाममा आधारित बनाइनेछ।

नागरिकका सुझाव, गुनासा, अनुभव तथा निगरानीलाई डिजिटल र अन्य सहज माध्यमबाट संकलन तथा विश्लेषण गरी निर्णय प्रक्रियामा उपयोग गरिनेछ। यसबाट सूचना, सहभागिता र जवाफदेहितामा नागरिकको पहुँच बढाउने लक्ष्य राखिएको छ।

९. प्रतिबद्धताको कार्यान्वयन, अनुगमन र समीक्षा

साझा प्रतिबद्धता कार्यान्वयन गर्न प्रत्येक प्रदेशले आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअनुसार आवश्यक नीति, संस्थागत व्यवस्था तथा कार्ययोजना तयार गरी लागू गर्नेछन्।

कार्यान्वयनको प्रगति, उपलब्धि र चुनौतीको समीक्षा गर्न कम्तीमा वर्षमा एकपटक मुख्यमन्त्रीस्तरीय अन्तरप्रदेश बैठक वा सम्मेलन आयोजना गरिनेछ। आवश्यकताअनुसार विषयगत कार्यसमूह गठन गरी समन्वय, सहकार्य, अनुगमन तथा मूल्याङ्कनलाई प्रभावकारी बनाइनेछ।

कार्यान्वयनका क्रममा प्राप्त अनुभव, सिकाइ र उपलब्धिलाई आगामी नीति, योजना तथा कार्यक्रमसँग जोडेर अघि बढाउने प्रतिबद्धतासमेत मुख्यमन्त्रीहरूले व्यक्त गरेका छन्।

Previous Post

जापानका लागि प्रश्तावित राजदुत जिज्ञानकुमार थापाको स्पष्टीकरणः ‘मेरो ध्यान नेपालको हितमा मात्र’

Next Post

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

रिजन खड्का

रिजन खड्का

Leave Comment
Facebook Twitter Youtube RSS
सूचना विभाग दर्ता नं: 000/०८३-८४
No Result
View All Result
  • समाचार
  • अर्थतन्त्र
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • समाज
  • स्वास्थ्य
  • मनोरञ्जन
  • विश्व
  • शिक्षा
  • सरोकार
  • खेलकुद
    • खेलकुद विशेष
    • फुटबल
    • क्रिकेट

संख्खमुल काठमाडौँ
सूचना तथा प्रशारण विभाग दर्ता नं. :
0000/०८३/०८४
प्रेस काउन्सिल दर्ता नं. ००००
सम्पर्क नम्बर : +977-9800000000

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In