२८ असोज, काठमाडौं । चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिका वडा नं. १६ ले जितेको छ। बुधबार सम्पन्न फाइनलमा वडा नं. ६ लाई २–१ गोलले हराउँदै वडा नं. १६ च्याम्पियन बनेको हो।
वडा नं. १६ को जितमा आयुष कुँवर र रविन्द्र निरौलाले एक–एक गोल गरे। वडा नं. ६ का संयम घिमिरेले एक गोल फर्काए। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका रविन्द्र निरौला म्यान अफ द म्याच घोषित भए।
प्रतियोगितामा असिम गुरुङ सर्वाधिक गोलकर्ता बने। सुदीप गरि उत्कृष्ट खेलाडी घोषित हुँदा संयम घिमिरेले उत्कृष्ट गोलकिपरको उपाधि पाए।
प्रतियोगिताको विजेता वडा नं. १६ ले दुई लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता वडा नं. ६ ले एक लाख रुपैयाँ पायो। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरूलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
बुधबार नै आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन, वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठ र वडा नं. २३ का पूर्वअध्यक्ष पवित्र वज्राचार्यले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार र प्रमाणपत्र वितरण गरे।
काठमाडौं महानगरपालिका वडा नं. २३ निवासी पूर्वमन्त्री तथा समाजसेवी प्रयागराज सिंह सुवालको स्मृतिमा वडा नं. २३ ले विगत चार वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष मचाराजा महर्जनले बताए।
