२८ असोज, काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली आवासीय राजदूत गिरीबहादुर सुनारले त्यहाँ रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा सहज रूपमा उपलब्ध गराउन पूर्वी, दक्षिणी र उत्तरी क्षेत्रमा नियमित घुम्ती कन्सुलर शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
संसदीय सुनुवाइका क्रममा सुनारले कन्सुलर सेवालाई डिजिटल प्रविधिमैत्री बनाउने योजना प्रस्तुत गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन सम्बन्धित क्षेत्रमा नियमित घुम्ती शिविर सञ्चालनका लागि पहल गर्ने बताएका छन्।
डिजिटल कन्सुलर सेवा विस्तारअन्तर्गत उनले अनलाइनमार्फत मात्र सेवा प्रदान गर्ने व्यवस्था, अनलाइन टोकन प्रणाली, भुक्तानी तथा ई–पासपोर्टका लागि अनलाइन अपोइन्टमेन्ट अनिवार्य गर्ने योजना अघि सारेका छन्। त्यसैगरी, राष्ट्रिय परिचयपत्रमा आधारित मोबाइलमार्फत राहदानी नवीकरण सेवा सञ्चालन गर्ने योजना पनि उनले सुनाएका छन्।
सुनारका अनुसार हाल साउदी अरबमा चारदेखि पाँच लाख नेपाली नागरिक रहेका छन्। पछिल्लो एक दशकमा साउदी अरब जानका लागि १३ लाखभन्दा बढी श्रम स्वीकृति जारी भएको उनले उल्लेख गरेका छन्।
श्रम स्वीकृति लिने कामदारमध्ये ६७ प्रतिशत अदक्ष, २८ प्रतिशत अर्धदक्ष तथा दक्ष र पाँच प्रतिशत उच्च दक्ष जनशक्ति रहेको विवरण उनले प्रस्तुत गरेका छन्।
