२९ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइन टिकट काट्ने सुविधा सुरु गरेको छ। तयारी थालेको झन्डै तीन वर्षपछि निकुञ्जले बिहीबारदेखि परीक्षणका रूपमा सौराहा प्रवेशद्वारबाट ई–टिकटिङ सेवा सञ्चालनमा ल्याएको हो।
निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार अहिले सौराहा पोस्टबाट अनलाइन टिकट काट्ने व्यवस्था गरिएको छ। परीक्षणको नतिजा र सेवाको प्रभावकारिता हेरेर अन्य प्रवेशद्वारमा समेत यो सुविधा विस्तार गरिनेछ।
वन्यजन्तु अवलोकनका लागि ठूलो सङ्ख्यामा पर्यटक पुग्ने चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकटको व्यवस्था नहुँदा होटल तथा पर्यटन व्यवसायीले असुविधा भोग्दै आएका थिए। यसअघि पर्यटक वा व्यवसायीले नगद बोकेर टिकट काउन्टरमै पुग्नुपर्ने बाध्यता थियो।
निकुञ्जमा प्रवेशका लागि सौराहासहित कसरा, घटगाई, मेघौली, बनकट्टा, माडी, कुजौली, नवलपरासी र अमलटारीलगायत विभिन्न नाका प्रयोग गरिन्छ। तीमध्ये सबैभन्दा बढी पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गर्ने भएकाले सुरुवातमा त्यहीँ अनलाइन भुक्तानी प्रणाली जडान गरिएको पुनले बताए। उनका अनुसार आन्तरिक र बाह्य पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी सौराहा नाकाबाट निकुञ्ज प्रवेश गर्छन्।
निकुञ्जमा टिकट काट्ने प्रक्रिया सहज बनाउन पर्यटन व्यवसायीलाई तालिम दिने र प्रयोगसम्बन्धी भिडियो सामग्री तयार गर्ने योजना पनि रहेको पुनले जानकारी दिए।
सौराहा पोस्टबाट अनलाइन टिकट उपलब्ध हुन थालेपछि पर्यटकलाई निकुञ्ज भ्रमण गर्न सहज हुने पार्क सफारी होटलका सञ्चालक महेश खनालले बताए।
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ र घडियाल गोहीलगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका चरा र जैविक विविधता अवलोकन गर्न सकिन्छ। निकुञ्ज प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति प्रतिदिन १५० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकले एक हजार रुपैयाँ र अन्य विदेशी पर्यटकले दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। पर्यटक बोक्ने प्रत्येक जिपले एकपटक प्रवेश गर्दा पाँच हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ।
निकुञ्जले दैनिक ६० वटा जिपलाई मात्रै पर्यटक घुमाउने अनुमति दिँदै आएको छ। बिहान ३० र दिउँसो ३० वटा जिपलाई प्रवेश अनुमति दिइन्छ।
अनलाइन टिकट प्रणालीले निकुञ्जबारे अन्तर्राष्ट्रिय स्तरमा जानकारी फैलाउन, प्रचारप्रसार बढाउन र पर्यटकको बसाइ अवधि लम्ब्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसबाट भ्रमण गर्ने पर्यटकको विवरण व्यवस्थित रूपमा राख्न, टिकट जहाँबाट पनि काट्न र प्रवेशद्वारमा हुने भीड घटाउन सहज हुने निकुञ्जका एक पूर्व संरक्षण अधिकृतले बताए।
हातैले टिकट काट्दा बढी जनशक्ति परिचालन गर्नुपर्ने र पर्यटकले समेत लामो प्रक्रिया पूरा गर्नुपर्ने अवस्था रहेको प्रमुख वरिष्ठ संरक्षण अधिकृत पुनले बताए। अनलाइन प्रणालीबाट घर वा आफू रहेको स्थानबाटै टिकट काट्न र राजस्व तिर्न सकिने भएपछि पर्यटक तथा व्यवसायी दुवैलाई राहत पुग्ने उनको भनाइ छ।
निकुञ्जले उपलब्ध गराएको जानकारीअनुसार पर्यटकले अनलाइन प्रणालीमा आवश्यक व्यक्तिगत विवरण भरेर राजस्व भुक्तानी गर्न सक्नेछन्। प्रक्रिया पूरा भएपछि क्यूआर कोड तयार हुनेछ। उक्त कोड देखाएर निकुञ्ज प्रवेश गर्न सकिनेछ। जारी हुने टिकट भने एक दिनका लागि मात्र मान्य हुनेछ।
राष्ट्रिय निकुञ्जमध्ये ई–टिकटिङ सेवा सुरु गर्ने चितवन दोस्रो निकुञ्ज बनेको छ। यसअघि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा यो सुविधा सञ्चालनमा आइसकेको छ। नेपालमा हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा शिकार आरक्ष र छवटा संरक्षण क्षेत्र छन्।
चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा दुई लाख ७२ हजार ९२३ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। तीमध्ये दुई लाख ३७ हजार २५ जना सौराहा नाकाबाट प्रवेश गरेका थिए।
गत आर्थिक वर्ष निकुञ्ज भ्रमण गर्नेमा एक लाख ६१ हजार ३७५ जना नेपाली, २२ हजार ८८३ जना सार्क राष्ट्रका र ८८ हजार ६६५ जना अन्य विदेशी पर्यटक रहेका थिए।
