मौसम पूर्वानुमान प्रणाली आधुनिक बनाउने तयारी, विशेष सेवामा शुल्क लाग्ने
काठमाडौं । मौसमसम्बन्धी सूचना संकलन र पूर्वानुमानलाई थप प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले देशभरका मौसम मापन केन्द्रको प्रविधि स्तरोन्नति गर्ने योजना अघि सारेको छ । यसअन्तर्गत हाल सञ्चालनमा रहेका परम्परागत केन्द्रलाई क्रमशः स्वचालित प्रणालीमा लैजाने तयारी गरिएको छ ।
विभागको श्वेतपत्रको मस्यौदामा माथिल्लो वायुमण्डलको अवस्थाबारे जानकारी संकलन गर्न थप ६ वटा रेडियोसोन्डे केन्द्र स्थापना गर्ने प्रस्ताव पनि समेटिएको छ । यसबाट मौसमसम्बन्धी तथ्याङ्कको उपलब्धता र विश्वसनीयता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विभागले मौसमसम्बन्धी सेवालाई आवश्यकताअनुसार वर्गीकरण गरी व्यावसायिक प्रयोगमा आउने विशेष सूचनाका लागि शुल्क लिने व्यवस्था गर्न लागेको छ । कृषि, पर्यटन, जलस्रोत, सडक पूर्वाधार, हवाई सेवा र ऊर्जा क्षेत्रका लागि तयार पारिने विशिष्ट पूर्वानुमान तथा तथ्याङ्क यसअन्तर्गत पर्नेछन् ।
व्यावसायिक प्रयोजनका लागि विशेष मौसमसम्बन्धी जानकारी माग गर्ने संस्था तथा सेवाग्राहीले त्यसबापत शुल्क तिर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो । यद्यपि, विपद् जोखिमबाट नागरिकलाई जोगाउन आवश्यक पूर्वसूचना र सार्वजनिक सुरक्षासँग सम्बन्धित अत्यावश्यक जानकारी भने निःशुल्क उपलब्ध गराइने विभागले स्पष्ट पारेको छ ।
मौसम मापनमा स्वचालित प्रविधिको विस्तार र विशिष्टीकृत सेवाको व्यवस्थापनमार्फत तथ्याङ्क संकलनलाई व्यवस्थित बनाउने तथा मौसम पूर्वानुमानको उपयोगिता बढाउने विभागको लक्ष्य रहेको छ ।
#DreamNewsNetwork #NepalWeather #WeatherForecast #Climate #NepalNews
