ट्राफिक प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै दुर्घटना कैलालीमा भएका छन्। जिल्लामा ८८ वटा सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने १४६ जना घाइते भएका छन्।
त्यस्तै, कञ्चनपुरमा ३५ वटा दुर्घटना भएका छन्। ती घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। कैलाली र कञ्चनपुरबाहेक प्रदेशका अन्य जिल्लामा यस अवधिमा सवारी दुर्घटनाबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
अन्य जिल्लामध्ये डडेल्धुरामा १०, डोटीमा आठ, अछाममा पाँच, दार्चुला र बाजुरामा दुई–दुई तथा बझाङ र बैतडीमा एक–एक वटा सवारी दुर्घटना भएका छन्। यी जिल्लामा भएका दुर्घटनामा कुल ४७ जना घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्क छ।
गत वर्ष दशैँदेखि छठ पर्वसम्म सुदूरपश्चिम प्रदेशभर १२२ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो भने २५३ जना घाइते भएका थिए।
यस वर्ष दशैँको अवधिमै गत वर्षको दशैँदेखि छठसम्मको कुल सङ्ख्याभन्दा ३० वटा बढी दुर्घटना भएका छन्। यद्यपि, मृत्यु हुनेको सङ्ख्या गत वर्षको तुलनामा कम देखिएको छ। घाइते हुनेको सङ्ख्या पनि गत वर्षको उक्त अवधिभन्दा १० जनाले घटेको छ।
चाडपर्वका बेला सवारी दुर्घटनाको सङ्ख्या बढ्दै जानुले दुर्घटना नियन्त्रण तथा न्यूनीकरणलाई चुनौतीपूर्ण बनाएको छ। दुर्घटनाको सङ्ख्या बढे पनि मानवीय क्षति र घाइतेको सङ्ख्या गत वर्षको तुलनामा कम हुनुलाई भने सकारात्मक पक्षका रूपमा हेरिएको छ।
