कर्णालीमा सडक, बिजुली र मोबाइलको पहुँच विस्तार हुनु परिवर्तनको संकेत : मुख्यमन्त्री शाही
हुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय गणतन्त्र स्थापनापछि कर्णालीका दुर्गम बस्तीमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच बढ्दै गएको बताएका छन्। उनले यी परिवर्तनले स्थानीय नागरिकको जीवनशैलीमा सुधार ल्याएको उल्लेख गरे।
अदानचुली गाउँपालिका–३ श्रीनगरस्थित आफूले २०४१ सालमा अध्ययन गरेको सूर्योदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै शाहीले विगतमा दैनिक उपभोग्य वस्तु जुटाउनसमेत कठिन हुने कर्णालीमा अहिले विकासका पूर्वाधार विस्तार हुँदै गएको बताए।
विद्यालयमा अध्ययन गर्दाको अनुभव सुनाउँदै उनले त्यसबेला चामल ल्याउन बाजुराको कोल्टी र मार्तडीसम्म भारी बोकेर जानुपर्ने अवस्था रहेको स्मरण गरे। मट्टीतेलको अभावमा झरो बालेर पढ्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले अहिले गाउँगाउँमा विद्युत् र सञ्चार सेवा पुग्नु सकारात्मक परिवर्तन भएको बताए।
मुख्यमन्त्री शाहीले विगतको कठिन जीवन र वर्तमान अवस्थाबीच तुलना गर्दै नयाँ पुस्ताले प्राप्त उपलब्धिको महत्त्व बुझ्नुपर्ने धारणा राखे। सडक तथा सञ्चार सुविधाको विस्तारले दुर्गम क्षेत्रका नागरिकलाई राज्यका सेवा र सुविधासँग जोड्न सहयोग पुगेको उनको भनाइ थियो।
उनले भौतिक पूर्वाधारसँगै सामाजिक क्षेत्रमा पनि परिवर्तन आएको उल्लेख गरे। विभिन्न जातजाति र समुदायका नागरिकको अधिकार तथा सामाजिक सम्मानमा सुधार हुँदै गएको बताउँदै उनले सबैले सम्मानपूर्वक जीवनयापन गर्न पाउने वातावरण निर्माण हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए।
