हालै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका रजकले न्युज कारखानासँग कुरा गर्दै बजार अनुगमनका क्रममा पसल बन्द गरेर भाग्नुभन्दा कानुनसम्मत रूपमा फर्म तथा व्यावसायिक प्रतिष्ठान दर्ता गरी कारोबार गर्न व्यापारीलाई आग्रह गरेका हुन् ।
उनका अनुसार विगतमा विभिन्न झन्झट र हैरानीका कारण कतिपय व्यवसायी चाहेर पनि मूल्य अभिवृद्धि कर (भ्याट) लगायत कर प्रणालीको दायरामा आउन नसकेको अवस्था छ । अब त्यस्ता समस्या दोहोरिन नदिने र व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने उनले बताएका छन् ।
कार्यक्षेत्रअन्तर्गतका बजारमा अनुगमन गर्न जाँदा आसपासका पसलसमेत बन्द हुने गरेको उल्लेख गर्दै रजकले कानुनअनुसार कारबाही गर्न सकिने भए पनि व्यवसायीलाई सुधारको अवसर दिन आफूहरू तत्पर रहेको बताएका छन् ।
तिहारअघि नै कर शिक्षा अभियान
व्यापारी तथा व्यवसायीलाई करसम्बन्धी जानकारी दिन आन्तरिक राजस्व कार्यालय सिमराले विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । तिहारअघि नै बारा र रौतहटका प्रमुख बजारमा पुगेर व्यवसायीसँग प्रत्यक्ष छलफल गर्ने योजना रहेको कार्यालय प्रमुख रजकले जानकारी दिएका छन् ।
करसम्बन्धी जानकारी लिन चाहने व्यवसायीले कार्यालयको वेबसाइट हेर्न वा सूचना अधिकारी रवि श्रेष्ठलाई ९८५५०२५८७४ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
यसअघि जिल्ला भन्सार कार्यालय गौरको प्रमुखको जिम्मेवारीमा रहेका उपसचिव रजक गत असोज २९ गते त्यहाँबाट बिदा भएका थिए । असोज २३ गतेको निर्णयअनुसार सरुवा भएका उनी कात्तिक ९ गते सोमबार आन्तरिक राजस्व कार्यालय सिमरामा हाजिर भई कार्यभार सम्हालेका हुन् ।
गौर भन्सार कार्यालयको प्रमुख रहँदा रजकको कार्यकालमा आर्थिक वर्ष २०८२/०८३ मा वार्षिक लक्ष्यभन्दा ४१.४१ प्रतिशत बढी राजस्व संकलन भएको थियो । त्यस्तै, लामो समयदेखि भन्सार परिसरमा थन्किएका पुराना तथा नयाँ सवारीसाधन र विभिन्न मालवस्तुको समयमै लिलाम बढाबढ प्रक्रिया अघि बढाउन पनि उनी सफल भएका थिए ।
बारा र रौतहटका व्यवसायीलाई कर प्रणालीमा आबद्ध गराउँदै राजस्व संकलन बढाउने र करदातालाई सहज सेवा उपलब्ध गराउने विषयलाई आफ्नो प्राथमिकतामा राखेको कार्यालय प्रमुख रजकले बताएका छन् ।
