काठमाडौं, १२ कात्तिक । ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ को ट्यालेन्ट शो सम्पन्न भएको छ। सौन्दर्यसँगै व्यक्तित्व, सिर्जनशीलता र प्रतिभालाई प्राथमिकता दिँदै आयोजना गरिएको कार्यक्रममा अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका २२ महिलाले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्।
ट्यालेन्ट शोमा प्रतियोगीहरूले नृत्य, अभिनय, कविता वाचनलगायत विभिन्न विधामार्फत आफूभित्र रहेको प्रतिभा प्रदर्शन गरेका थिए। प्रतियोगीहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। यसै चरणबाट मिसेस ट्यालेन्ट उपाधिका लागि विजेता छनोट गरिनेछ।
आयोजक संस्था रिवन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले अन्तिम प्रतिस्पर्धाकै दिन मिसेस ट्यालेन्ट उपाधि विजेताको घोषणा गरिने बताएका छन्।
ट्यालेन्ट राउण्डको मूल्यांकन संगीतकार राजु सिंह, नृत्य निर्देशक जोगेन्द्र केसी, अभिनेता तथा मोडल यसराज गराच र शिक्षाविद् ज्ञानेन्द्र लामाले गरेका थिए।
आगामी कात्तिक १४ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आयोजना हुँदैछ। अन्तिम चरणमा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेसन डिजाइनरसम्म विभिन्न पेसामा आबद्ध महिलाहरू सहभागी छन्। विभिन्न कार्यक्षेत्रमा सक्रिय २२ प्रतियोगीले अन्तिम प्रतिस्पर्धामा आफ्नो प्रतिभा, आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गर्नेछन्।
प्रतियोगितामा मिसेस नेपाल वर्ल्डको उपाधि जित्ने महिलाले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।
यसै मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत छनोट गरिने आयोजकले जनाएका छन्। ती उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने प्रतियोगिताकी आयोजक शिला बास्तोलाले बताएकी छन्।
Hashtags:
#MrsNepalWorld2026 #TalentShow #BeautyPageant #WomenEmpowerment #WomenInspiringWomen #NepalEntertainment #NepalNews #DreamNewsNetwork
