काठमाडौं, १२ कात्तिक । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले अब शुल्क तिर्नुपर्ने भएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले दर्जनौँ सडक तथा पुल बगाएपछि सरकारले सुरुङमार्गको प्रयोग निःशुल्क गरेको थियो। तर, कात्तिक १५ गतेदेखि भने टोल शुल्क उठाइने भएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले आइतबारदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले बिहीबार सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि शुल्क संकलन सुरु हुने जनाएको छ।
सडक बोर्डको कार्यकारी समितिले गत असोज १२ गते गरेको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा शुल्क संकलन गर्न लागिएको आयोजनाले जनाएको छ।
सूचनाअनुसार सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिरिने सवारीका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ।
कुन सवारीसाधनलाई कति शुल्क?
- हलुका सवारीसाधन: कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
- मध्यम सवारीसाधन: मिनीबस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ।
- बस तथा सिंगल रियर एक्सेल भएका ट्रक: काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ।
- मल्टी एक्सेल ट्रक तथा भारी उपकरण: काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।
जापान सरकारको आर्थिक सहयोगमा नागढुंगा सुरुङमार्ग निर्माण गरिएको हो। शुल्क संकलन सुरु भएसँगै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार सडक उपभोग दस्तुर बुझाउनुपर्नेछ।
