कास्कीको पोखरा महानगरपालिका–६, लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा रहेको टहराको शौचालयको च्याम्बरमा गत कात्तिक ३ गते साँझ एक पुरुष नवजात शिशुको शव फेला परेको थियो।
शौचालय जाम भएर पानी बाहिर ननिस्किएपछि घरधनी तोडबहादुर थापाले च्याम्बर खोलेर हेर्दा शिशुको शव देखेका थिए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले पोखरा–६, लेकसाइडमा भाडामा बस्दै आएकी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ की निरता नेपालीमाथि शंका गरेको थियो। घटनापछि फरार रहेकी उनलाई प्रहरीले कात्तिक ४ गते राति करिब १:१५ बजे पोखरा महानगरपालिका–२१, लुकुनस्वाराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकी महिलाको चिकित्सकीय स्वास्थ्य परीक्षणसमेत गरिएको छ। अनुसन्धानका क्रममा उनको विवाह २०७८ सालमा स्याङ्जाकै राजन सार्कीसँग सामाजिक परम्पराअनुसार भएको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा १० दिनको म्याद थप गराई थप अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।
