काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका १६ वर्षीय बलर राहुल यादव ‘म्यान अफ द म्याच’ घोषित भएका छन्।
काठमाडौँ गोर्खाजविरुद्धको खेलमा राहुलले चार विकेट लिँदै विपक्षी टोलीको ब्याटिङ लाइनअप ध्वस्त पार्न योगदान दिएका थिए। उनको उत्कृष्ट बलिङको मद्दतमा जनकपुरले काठमाडौँलाई ८ विकेटले पराजित गरेको हो।
काठमाडौँले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो।
राहुलले काठमाडौँका ओपनर स्मित पटेल र साम हिजलेटलाई आउट गर्नुका साथै करण केसी र आदिल आलमको विकेट पनि लिए। उनको प्रदर्शन खेलको नतिजामा निर्णायक बन्यो।
यसअघि प्रतियोगिताको पहिलो खेलमा पनि राहुलले कर्णाली याक्सविरुद्ध दुई विकेट लिएका थिए। तर, उक्त खेलमा जनकपुर १९ रनले पराजित भएको थियो।
काठमाडौँविरुद्धको खेलपछि ‘म्यान अफ द म्याच’ बनेका राहुलले आफू निकै खुसी रहेको बताए। उनले प्रतियोगिताका क्रममा धेरै कुरा सिक्ने अवसर पाइरहेको उल्लेख गर्दै आगामी खेलमा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्ने प्रतिक्रिया दिए।
‘म एकदमै खुसी छु। पहिलो खेलमा पनि पहिलो बलमै विकेट आएको थियो, दोस्रो खेलमा पनि पहिलो बलमै विकेट आयो। यसले खुसी लागेको छ। म धेरै कुरा सिकिरहेको छु। बाँकी खेलमा पनि राम्रो गर्ने प्रयास गर्नेछु,’ उनले भने।
कम उमेरमै एनपीएलमा प्रभावशाली प्रदर्शन गरिरहेका राहुलको बलिङ जनकपुरका लागि आगामी खेलहरूमा पनि महत्वपूर्ण बन्न सक्ने देखिएको छ।
