रुसविरुद्धको युद्धमा हवाई प्रतिरक्षा प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले अमेरिकाले युक्रेनलाई २ अर्ब १० करोड अमेरिकी डलर (करिब २ खर्ब ८४ अर्ब नेपाली रुपैयाँ) बराबरको अत्याधुनिक ‘प्याट्रियट’ क्षेप्यास्त्र तथा सम्बन्धित सैन्य उपकरण बिक्री गर्न स्वीकृति दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले शुक्रबार उक्त सम्झौतालाई औपचारिक रूपमा अनुमोदन गरेको पुष्टि गरेको हो । युक्रेन सरकारले ५०० थान ‘प्याट्रियट एड्भान्स्ड क्यापाबिलिटी–३’ (पीएसी–३) मिसाइल सेग्मेन्ट एन्हान्समेन्ट (एमएसई) क्षेप्यास्त्र खरिदका लागि अमेरिकासमक्ष औपचारिक प्रस्ताव राखेको थियो ।
अमेरिकी विदेश मन्त्रालयले उक्त प्रस्तावलाई सम्बोधन गर्दै क्षेप्यास्त्रका साथै आवश्यक पार्टपुर्जा र लजिस्टिक सहयोग उपलब्ध गराउने गरी सम्झौता अघि बढाएको जनाएको छ । अमेरिकी रक्षा क्षेत्रको प्रमुख उत्पादक कम्पनी लकहिड मार्टिनले यी हतियार तथा उपकरण आपूर्ति गर्नेछ ।
यस खरिद प्रक्रियामा अमेरिकी करदाताको रकम वा प्रत्यक्ष सरकारी बजेट प्रयोग नहुने स्पष्ट पारिएको छ । युक्रेनले हतियार खरिदका लागि क्यानडा, जर्मनी र नर्वेले ‘जम्पस्टार्ट’ कार्यक्रममार्फत उपलब्ध गराएको अनुदान सहयोग तथा युरोपेली संघको ‘युक्रेन सपोर्ट लोन’ अन्तर्गत प्राप्त राष्ट्रिय कोष प्रयोग गर्ने भएको छ ।
पछिल्लो समय रुसले युक्रेनको ऊर्जा पूर्वाधार र प्रमुख सहरहरूमा हवाई आक्रमण तीव्र बनाएपछि किएभले हवाई प्रतिरक्षा क्षेप्यास्त्रको गम्भीर अभाव झेलिरहेको छ । यसै महिनाको सुरुवातमा अमेरिकी सञ्चारमाध्यम सीएनएनले युक्रेनसँग मौज्दात प्याट्रियट क्षेप्यास्त्र लगभग सकिएको संवेदनशील विवरण सार्वजनिक गरेको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसै साता सञ्चारकर्मीसँग कुरा गर्दै चालु वर्ष आफ्नो देशले प्याट्रियट प्रणालीका लागि मासिक औसत १२ वटा मात्र क्षेप्यास्त्र प्राप्त गरिरहेको बताएका थिए ।
युक्रेनको सरकारी समाचार संस्था ‘उक्रिनफर्म’का अनुसार हवाई क्षेत्र सुरक्षित राख्न आवश्यक क्षेप्यास्त्रको संख्या हाल प्राप्त भइरहेको परिमाणभन्दा निकै बढी छ । यस्तो अवस्थामा अमेरिकाले दिएको पछिल्लो स्वीकृति किएभका लागि रणनीतिक रूपमा निकै महत्त्वपूर्ण हुने देखिएको छ ।
