लेबनानका राष्ट्रपति जोसेफ औनले दक्षिणी क्षेत्रमा जारी इजरायली आक्रमण तत्काल रोक्न माग गर्दै लेबनानी सेनालाई युरोपेली मुलुकहरूले थप सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएकाछन् ।
सैन्य हस्तक्षेप र बल प्रयोगबाट मात्रै दिगो शान्ति तथा स्थायित्व हासिल हुन नसक्ने उल्लेख गर्दै उनले वार्ता र कूटनीतिक माध्यमबाट समस्या समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेका छन् ।
बिहीबार बाब्दास्थित राष्ट्रपति भवनमा जर्मनीकी आर्थिक सहयोग तथा विकास मन्त्री रिम अलाबाली रादोभानसँग भएको उच्चस्तरीय भेटवार्तामा राष्ट्रपति औनले वर्तमान संकट समाधानका लागि लेबनानको कूटनीतिक प्रतिबद्धता दोहोर्याएका छन् ।
भेटका क्रममा राष्ट्रपति औनले लेबनानले अघि सारेका चार प्रमुख मुद्दा–तत्काल युद्धविराम, इजरायली सेनाको पूर्ण फिर्ती, सीमा सीमांकन र बन्दी रिहाइमा अहिलेसम्म ठोस तथा सार्थक प्रगति हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
नागरिक बस्ती तथा पूर्वाधारलाई लक्षित गरी भइरहेका निरन्तर सैन्य आक्रमणले सर्वसाधारणको जनजीवन थप कष्टकर बनाएको र दक्षिणी लेबनानमा शान्ति स्थापनाको प्रयासमा बाधा पुर्याएको उनको भनाइ छ ।
सुरक्षा चुनौतीहरूको सामना गर्न लेबनान र त्यहाँको राष्ट्रिय सेना औपचारिक संयन्त्रमार्फत अघि बढ्न तयार रहेको स्पष्ट पार्दै उनले सेनाको क्षमता अभिवृद्धि गर्न युरोपेली संघको सहयोग निर्णायक हुने बताएका छन् ।
आन्तरिक सुरक्षा, आतंकवाद नियन्त्रण, लागुऔषध तस्करी रोकथाम र अवैध आप्रवासन नियन्त्रणमा लेबनानी सेनाले निर्वाह गरेको भूमिकाले समग्र क्षेत्रका साथै युरोपको सुरक्षामा समेत योगदान पुर्याउने उनले जिकिर गरेका छन् ।
आर्थिक विषयमा छलफल गर्दै राष्ट्रपति औनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँगको सहकार्यमा आर्थिक सुधारका काम अघि बढाइएको जानकारी दिएका छन् ।
उनले विदेशी साझेदारहरूलाई आपत्कालीन राहतमा मात्र सीमित नभई दीर्घकालीन आर्थिक साझेदारीमा जोड दिन तथा जर्मन कम्पनीहरूलाई पुनर्निर्माण र रोजगारी सिर्जनामा लगानी गर्न आह्वान गरेका छन् ।
यसैबीच, जर्मन मन्त्री रिम अलाबाली रादोभानले संकटको घडीमा लेबनान र त्यहाँका जनताप्रति जर्मनीको पूर्ण ऐक्यबद्धता रहेको बताएकी छन् ।
लेबनानमा विस्थापितको संख्या १० लाखभन्दा बढीबाट घटेर करिब २ लाखमा झर्नु सकारात्मक भएको उल्लेख गर्दै उनले सार्वजनिक प्रशासन, खानेपानी, शिक्षा र सामाजिक सुरक्षाजस्ता क्षेत्रमा जर्मनीको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
साथै, बेरुतलगायतका क्षेत्रमा भएका इजरायली आक्रमणबारे जर्मनीले इजरायल सरकारसमक्ष प्रत्यक्ष रूपमा चासो र सरोकार राखिरहेको मन्त्री रादोभानले स्पष्ट पारेकी छन् ।
