प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बहुमत प्राप्त वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले जनताले खोजेको बलियो सरकारले ‘कमजोर शासन’ सञ्चालन गरिरहेको भन्दै नेतृत्वको कार्यकुशलतामाथि प्रश्न उठाएका छन्।
नेता आङदेम्बेले जनादेशको सम्मान गर्दै मुलुकलाई स्थिरता र समृद्धिको दिशामा लैजानुपर्नेमा सरकार ‘झिना–मसिना’ मुद्दामा अल्झिरहेको टिप्पणी गरेका छन्।
सरकारसँग पाँच वर्षका लागि प्राप्त स्पष्ट बहुमत भए पनि त्यसको सदुपयोग गरी आम नागरिकको जीवनस्तर उकास्ने दिशामा शासकीय कार्यकुशलताको अभाव देखिएको उनको भनाइ छ।
उनले सरकारको पछिल्लो ६ महिनाको गतिविधिलाई ‘संक्रमणकालीन अवस्थाको निरन्तरता’ को संज्ञा दिँदै यसले विकास र अग्रगमनको सपनालाई ‘मृगतृष्णा’ बनाउने खतरा औँल्याएका छन्।
उनले भने, ‘हामीले परिवर्तन र सुशासन खोजेका हौँ, तर अहिलेको सरकारको क्रियाकलापबाट शासन कुनै निश्चित विधि र सिद्धान्तबाट निर्देशित नभई नेतृत्वको इच्छा र लहडमा चलेको आभास हुन्छ।’
आङदेम्बेले सरकार सञ्चालनको शैलीमा संस्थागत विधि र परम्पराको उल्लंघन भइरहेको आरोपसमेत लगाएका छन्। उनले राजकीय व्यवहारमा देखिएको असन्तुलन र अनुभवहीनताका कारण मुलुकले सही दिशा लिन नसकेको जिकिर गरेका छन्।
प्रतिपक्षका तर्फबाट सरकारलाई सुध्रिनका लागि धरातलीय यथार्थको ख्याल गर्न आग्रह गर्दै उनले सरकार स्वयंले आफ्नो समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
