कर्णालीका सडकको दुरावस्थाप्रति सांसद मिनासिंह रखालको चिन्ता, सरकारसँग प्रश्न
नेकपा (एमाले)की सांसद मिनासिंह रखालले कर्णाली प्रदेशका सडकको दयनीय र जोखिमपूर्ण अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले कर्णालीका अधिकांश सडक साँघुरा, कच्ची र जोखिमयुक्त रहेकाले सामान्य वर्षामा पनि हिलाम्य हुने र नागरिकहरू ज्यानको बाजी लगाएर यात्रा गर्न बाध्य भएको बताउनुभयो।
सडक दुर्घटनाका कारण धेरैले अकालमा ज्यान गुमाउनुका साथै कतिपय जीवनभर अपाङ्गता भोग्न बाध्य भएको उहाँले उल्लेख गर्नुभयो। यस्ता दुर्घटनाले सम्बन्धित परिवारका ज्येष्ठ नागरिक र बालबालिकाको भविष्य समेत अन्धकारतर्फ धकेलिएको उहाँको भनाइ छ।
सांसद रखालले दुर्घटना भइसकेपछि राहत र संवेदना दिनुभन्दा दुर्घटना नै हुन नदिने गरी पूर्वसावधानी र सुरक्षित सडक निर्माणमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो। सडकको नाममा बजेट छुट्याएर कागजमा मात्रै प्रगति देखाउने परिपाटीको आलोचना गर्दै उहाँले नागरिकले सुरक्षित रूपमा यात्रा गर्न पाउने वास्तविक सडक कहिले बन्छ भन्दै संघीय सरकारलाई प्रश्न गर्नुभयो।
