काठमाडौं उपत्यकामा लामो समयदेखि श्रृंखलाबद्ध लुटपाट, मोटरसाइकल चोरी तथा सुनका गरगहना लुट्ने कार्यमा सक्रिय ‘माझी गिरोह’का मुख्य नाइके आयन माझीसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सुराकीका आधारमा सञ्चालन गरेको अप्रेसनका क्रममा प्रहरीमाथि धारिलो हतियार प्रहार गरी भाग्न खोजेपछि प्रहरीले गोली चलाएर मुख्य अभियुक्त माझीलाई नियन्त्रणमा लिएको हो। बिहीबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–५ घर भई हाल कलंकी बस्ने २४ वर्षीय आयन माझी तथा उनका सहयोगी मकवानपुरका ३६ वर्षीय मनोजकुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ रहेका छन्। प्रहरीले उनीहरूलाई भक्तपुरको ठिमीबाट पक्राउ गरेको हो।
अनुसन्धानका क्रममा यो समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहान तथा रातिको समयमा एक्लै हिँड्ने सर्वसाधारणलाई लक्षित गर्ने गरेको खुलेको छ। उनीहरूले ठेगाना सोध्ने बहानामा महिला तथा पुरुषलाई नियन्त्रणमा लिई सिक्री लुटपाट गर्ने र फरार हुने क्रममा पटक–पटक सवारीसाधन परिवर्तन गर्ने गरेको पाइएको छ।
प्रहरीका अनुसार यो समूहले हालसम्म १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरिसकेको र विभिन्न स्थानमा भएका २७ भन्दा बढी लुटपाटका घटनामा संलग्न रहेको पाइएको छ।
अभियुक्त माझी यसअघि पनि पटक–पटक डाँका तथा चोरी मुद्दामा कारागार बसेर छुटेका व्यक्ति हुन्। प्रारम्भिक अनुसन्धानबाट उनले जेन–जी आन्दोलनका क्रममा लुटिएका अत्याधुनिक हतियार खरिद गर्ने योजनासमेत बनाएको खुलेको छ।
उनीहरूको साथबाट लुटपाटमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट र धारिलो हतियार (खुकुरी) बरामद गरिएको घिमिरेले बताएका छन्। प्रहरीले गिरोहका अन्य सदस्यको खोजी तीव्र पारेको जनाएको छ भने पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।
