दमक, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश समितिको दोस्रो अधिवेशनमा ‘रक्सी र मासु’को विषयलाई लिएर विवाद भएको घटना सामाजिक सञ्जालमा चर्चामा आएको छ।
झापाको दमक नगरपालिका–८ स्थित कस्मिक पार्टी प्यालेसमा जारी अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार विश्वमोहन थापाले नेतृत्व चयनका क्रममा ‘रक्सी र मासु’को प्रभाव पर्न नहुने आशयको अभिव्यक्ति दिएपछि कार्यकर्ता मदन मगरले आपत्ति जनाएका थिए।
थापाको अभिव्यक्तिले आफूहरूको भावनामा ठेस पुगेको भन्दै मगरले आपत्ति जनाएपछि केहीबेर अधिवेशनस्थलमा भनाभनको अवस्था सिर्जना भएको थियो। विवाद बढेपछि थापाले आफ्नो अभिव्यक्तिप्रति माफी मागेका थिए। त्यसपछि वातावरण सामान्य बनेको र अधिवेशनको प्रक्रिया पुनः अघि बढाइएको जनाइएको छ।
विवादका कारण केही समय अधिवेशनस्थलको माहोल तनावपूर्ण बने पनि सहमति जुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको थियो।
राप्रपा कोशी प्रदेश अध्यक्षका लागि रामकुमार थापा, दुर्गा बस्नेत र विश्वमोहन थापाबीच प्रतिस्पर्धा भएको थियो। प्रकाशित नतिजाअनुसार रामकुमार थापा २७० मतसहित अध्यक्षमा निर्वाचित भएका छन् भने दुर्गा बस्नेतले २३९ र विश्वमोहन थापाले ४० मत प्राप्त गरेका छन्।
झापाको दमकमा सम्पन्न अधिवेशनमा तीन उम्मेदवारबीच भएको प्रतिस्पर्धामा दमक नगरपालिकाका प्रमुखसमेत रहेका रामकुमार थापाले २७० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी दुर्गा बस्नेतले २३९ तथा अर्का उम्मेदवार विश्वमोहन थापाले ४० मत प्राप्त गरेका छन्।
